कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्याग गरेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं.५ बाट रास्वपाको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका बिष्टले पार्टीको केन्द्रीय कार्यालय काठमाडौंलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका हुन् ।

उनले साधारण सदस्य पदबाटसमेत राजीनामा दिएका छन् । बिष्टले राजीनामा पत्रमा पार्टीमा प्रवेश गर्दाको मूल आदर्श-युवा राजनीति प्रवर्द्धन, जान्ने र सक्षम व्यक्तिलाई छनोट गर्ने, नातावाद, आशीर्वाद तथा आर्थिक प्रभावभन्दा माथि उठेर प्राइमरी प्रणालीबाट उम्मेदवार छनोट गर्ने-बाट प्रेरित भएको उल्लेख गरेका छन् । तर, पछिल्लो समय पार्टीले अपनाएको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धतासँग बाझिएको उनको भनाइ छ ।
सङ्गठनमा समर्पित नेता तथा कार्यकर्ताको उचित मूल्याङ्कन नहुने, विधि–विधानविपरीत गतिविधि बढ्ने र निर्णय प्रक्रियामा पारदर्शिता घट्दै जाने अवस्थाले आफ्नो आत्मसम्मान तथा राजनीतिक मूल्यप्रति प्रश्न उठेको उनले बताएका छन् । यस्तो परिस्थितिमा मौन बस्न नसक्ने निष्कर्षसहित पार्टीबाट पूर्ण रूपमा अलग हुने निर्णय गरेको उनको भनाइ छ ।











