
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताएका छन् ।
गोरखापत्र संस्थानद्वारा आयोजित ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनैपनि हालतमा नरोकिने दृढता व्यक्त गरेका हुन् ।
निर्वाचनको विकल्प निर्वाचन नै भएको उनको भनाइ छ । केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेको उनको आरोप छ ।
‘निर्वाचनको विकल्प निर्वाचन नै हो,’ उनले भने, ‘केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन् । २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ ।’
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आयोग र सञ्चार जगतलाई एउटै सिक्काका दुई पाटाको रूपमा चित्रण गरे । आयोगले निर्वाचनको व्यवस्थापकीय पाटो हेर्ने भएपनि निर्वाचनको माहोल सिर्जना गर्ने र मतदातालाई सुसूचित गर्ने मुख्य जिम्मेवारी सञ्चारकर्मीको रहेको उनको भनाइ थियो ।
‘तपाईंहरूले सिर्जना गरिदिएको माहोल र मलजलका कारण नै आज निर्वाचनको वातावरण यो अवस्थासम्म आइपुगेको हो,’ उनले भने ।
भण्डारीले निर्वाचन आचारसंहिता र विशेषगरी ‘मत सर्वेक्षण’ नगर्न आग्रह गरे । मतदान हुनुअघि गरिने मत सर्वेक्षणले मतदाताको मनस्थिति परिवर्तन गराई निर्वाचनको स्वच्छतामा असर पार्ने भएकाले यसलाई वर्जित गरिएको उनले स्पष्ट पारे ।
‘संविधानको अधिकारको नाममा निर्वाचनको निष्ठामाथि खेलबाड गर्न पाइँदैन’ उनले चेतावनी दिँदै भने, ‘मत सर्वेक्षणले हार्ने उम्मेदवारलाई जित्ने र जित्नेलाई हार्ने देखाएर मतदातामा भ्रम छर्नसक्छ, जुन समुच्च निर्वाचन प्रक्रियाकै लागि घातक हुन्छ ।’
युवा मतदाताको उत्साह र सुशासनको आशा
यस पटकको निर्वाचनमा ९ देखि १० लाख नयाँ मतदाता थपिनुलाई उनले सकारात्मक परिवर्तनको रूपमा लिनुपर्ने बताए । थपिएका मतदातामा युवाहरूको बाहुल्यता रहेको र उनीहरू सुशासनको खोजीमा निर्वाचन प्रक्रियामा सहभागी हुन उत्सुक रहेको उनको विश्लेषण छ । ‘युवाहरूको यो जोस र उत्साहले नेपालमा सुशासन प्रवाह गर्ने मार्ग प्रशस्त गर्नेछ’ उनले भने ।
साथै निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएका स्वदेशी तथा विदेशी संस्थाहरूले आफ्नो सीमाभित्र रहेर काम गर्नुपर्नेमा उनले जोड दिए । विगतमा केही संस्थाहरूले निश्चित मत चिन्हमा भोट हाल्न प्रचार गरेको तितो अनुभव सुनाउँदै उनले सञ्चारकर्मीहरूलाई पर्यवेक्षकका गतिविधिमाथि पनि ‘तेस्रो आँखा’ को रूपमा निगरानी राख्न आग्रह गरे ।
मुलुकलाई लयमा फर्काउने कडी
राजनीतिक विद्रोह र प्रतिनिधिसभा विघटनपछिको जटिल परिस्थितिमा हुन लागेको यो निर्वाचनले मुलुकको भड्किएको अनुशासनलाई लयमा ल्याउने भण्डारीले विश्वास व्यक्त गरे ।
उनले भने, ‘यो शताब्दीकै पेचिलो निर्वाचन भएपनि हामीले यसलाई सरल बनाइसकेका छौँ । निर्वाचनपछि आउने प्रतिनिधिहरूले जनमतको कदर गर्दै मुलुकमा शान्ति र सुशासन कायम गर्नेछन् ।’
उनले निर्वाचन सम्पन्न गर्ने ‘पवित्र यज्ञ’ मा सबै सरोकारवाला, राजनीतिक दल, उम्मेदवार र मतदातालाई जिम्मेवार भएर प्रश्तुत हुन र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न अपिल गरे ।











