काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो ‘८ अठोट’ सार्वजनिक गरेका छन् । कोइरालाले संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि आठ बुँदामा आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कोइरालाले लोकतन्त्र भावनाले मात्र नभई संस्थाले टिक्ने उल्लेख गर्दै संविधान संशोधन र सङ्घीयता सुदृढीकरणका लागि संसद्मा सक्रिय भूमिका खेल्ने पहिलो अठोट व्यक्त गरेका छन् । उनले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनको रक्षा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
औद्योगिक पुनर्जागरणलाई प्राथमिकतामा राख्दै उनले मोरङ ६ लाई उद्योगको ऐतिहासिक आधारका रूपमा विकास गर्ने बताएका छन् । ‘रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र’ भन्ने नाराका साथ उनले बन्द उद्योग पुनः सञ्चालन, विराटनगर विमानस्थलको स्तरोन्नति र स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिने नीति अघि सारेका छन् ।
मोरङको मुख्य समस्याका रूपमा रहेको बाढी र डुबानबारे चर्चा गर्दै उनले बुढीखोला, केशलिया र सिंघिया जस्ता नदीहरूको दीर्घकालीन गुरुयोजना बनाई तटबन्ध निर्माण र वैज्ञानिक ड्रेनेज प्रणालीमार्फत स्थायी समाधान खोज्ने अठोट गरेका छन् । यस्तै, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने विषयलाई पनि उनले आफ्नो योजनामा समेटेका छन् ।
सूचना प्रविधिको विकासका लागि स्थानीय आइटी हब स्थापना र कोडिङ तथा एआई तालिममार्फत डिजिटल रोजगारी सिर्जना गर्ने अठोट पनि उनले सार्वजनिक गरेका छन् । साथै, सुशासन र पारदर्शिताका लागि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सेवा विस्तार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
कृषि क्षेत्रमा ‘किसानलाई सहानुभूति होइन, प्रणाली चाहिन्छ’ भन्दै उनले जलवायुमैत्री कृषि, मल९बीउको सुनिश्चितता र कृषि बिमा विस्तार गर्ने बताएका छन् । शिक्षा क्षेत्रमा ‘डिग्री मात्र होइन, सीप’ भन्ने मान्यताका साथ डिजिटल कक्षा र प्राविधिक शिक्षामा जोड दिएका छन् भने स्वास्थ्य सेवालाई आधारभूत अधिकारका रूपमा स्थापित गर्न सरकारी अस्पतालको स्तरोन्नति गर्ने उनको योजना छ ।












