काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले फागुन २१ गतेको निर्वाचन इतिहास लेख्ने निर्वाचन भएको बताएका छन् । पार्टीका उम्मेदवार बालेन शाहलाई जिताएर झापा ५ ले देशलाई न्याय गर्ने विश्वास व्यक्त गरे ।

लामिछानेले भने, ‘यो देश इतिहासको सबैभन्दा महत्त्वपूर्ण ठाउँमा आएर उभिएको छ । जब जब जनता जागे, तब–तब देश बचेको छ । मलाई बाआमाहरूले आशीर्वाद दिँदै बाटो बाटोमा रोकेर भन्नुहुन्छ-बाबु यो देश बचाऊ । म झापा ५ मा उभिएर भन्न चाहन्छु यो देश बच्छ पनि र यो देश बन्छ पनि ।’
झापा ५ ले संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्रीलाई निर्वाचित गर्न लागेको बताए । उनले भने, ‘यहाँबाट निर्वाचित हुने तपाईँको उम्मेदवारलाई राष्ट्रिय पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। पार्टी सभापतिका रूपमा मलाई गर्व छ। सम्भवतः यस क्षेत्रबाट निर्वाचित भएर संसारकै सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह निर्वाचित भएर जानुहुनेछ ।’











