काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायको समग्र उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीको प्रतिबद्धतापत्रमा दलित विकास प्राधिकरणलाई उच्च प्राथमिकतामा राखिएको बताए । ‘उक्त प्राधिकरणले दलित समुदायको समग्र विकासलाई मार्गनिर्देश गर्नेछ,’ उनले भने ।
संयोजक दाहालले राज्यका सबै तहमा दलित समुदायलाई विशेषाधिकार सुनिश्चित हुनुपर्ने धारणा दोहोर्याए । ‘संविधानसभाबाट जारी नेपालको संविधानमा दलितका हकअधिकार लिपिबद्ध छन्,’ उनले भने, ‘तर त्यो पर्याप्त छैन, अझै विशेषाधिकार आवश्यक छ ।’
दाहालले विगतमा आफ्नो नेतृत्वमा सरकार रहँदा दलित विकास प्राधिकरण गठन गर्ने निर्णय भएको स्मरण गर्दै कार्यान्वयनका लागि बजेटसमेत विनियोजन गरिएको दाबी गरे । ‘पछि बनेको सरकारले त्यसलाई अघि बढाएन,’ उनले उल्लेख गरे ।











