Logo
Logo

रौतहटमा कैदीबन्दी र कर्मचारीका लागि तीन अस्थायी मतदान केन्द्र निर्धारण


693
Shares

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।

रौतहटको क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्षेत्र नं ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको हो ।

उक्त अस्थायी मतदान केन्द्रमा जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिए । तीनवटै अस्थायी मतदान केन्द्रमा २–२ जनाका दरले कर्मचारीको व्यवस्था गरिएको छ ।

गौर कारागारमा ६३ जना कैदीबन्दीको मतदाता नामावली रहेको र उनीहरूका लागि कारागार परिसरमै अस्थायी मतदानस्थल निर्धारण गरिएको हो ।

जिल्लाका ४ निर्वाचन क्षेत्रमा २७७ वटा मतदानस्थल र ५४१ वटा मतदान केन्द्र छन् । रौटहटमा ४ लाख ३६ हजार ६११ मतदाता छन् ।

२ मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्व
जिल्लाका २ मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ । गौर नगरपालिका– ५ मा रहेको आधारभूत विद्यालय बालमन्दिर भवन मतदानस्थलमा रहेका २ मतदान केन्द्रमा महिला कर्मचारी मात्रै छन् ।

उक्त मतदानस्थलको ‘क’ मतदान केन्द्रको मतदान अधिकृतमा आस्था शर्मा पौडेल, सहायक मतदान अधिकृतमा सुचिता श्रीवास्तव, सहायक कर्मचारीमा प्रियंकाकुमारी यादव, सविता कुशवाह, रुवि झा र कार्यालय सहयोगीमा रञ्जना रिजाल रहेका छन् ।

त्यस्तै ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत सब्रिना खातुन, सहायक मतदान अधिकृतमा कल्याणी मिश्र, सहायक कर्मचारीमा अर्चनाकुमारी साह, हिमकला पोखरेल, मनिषा चौधरी र कार्यालय सहयोगी गुडियादेवी राम रहेको जिल्ला मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं १ को निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए ।

क्षेत्र नंं १ क्षेत्रमा १३२ मतदान केन्द्र छन् । सो क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ ९ फागुनमै निर्वाचनसम्बन्धी प्रशिक्षण दिइसकिएको छ । जिल्लाको ५४१ मतदान केन्द्रमा १ हजार ४६ जना कर्मचारी खटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्