Logo
Logo

ट्रम्पको सम्बोधन : पुरानै दाबी, उस्तै खण्डन


189
Shares

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको पहिलो ‘स्टेट अफ द युनियन’ सम्बोधन गरेका छन् ।
स्थानीय समयअनुसार मंगलबार राति संसद भवन क्यापिटल हिलबाट गरेको सम्बोधनमा उनले अध्यागमन, ट्यारिफ, इरान र निर्वाचनसम्बन्धी मुद्दालाई महत्वका साथ उठाएका छन् ।

ट्रम्पले अध्यागमनलाई मुख्य राजनीतिक मुद्दा बनाउँदै डेमोक्र्याटिक पार्टीलाई निशाना बनाए। उनले अवैध आप्रवासीबाट पीडित भनिएका परिवार एन्जेल मम्सको उदाहरण दिँदै डेमोक्र्याटलाई भोट दिनु भनेको “अमेरिकाको सीमा फेरि खुला गर्ने लाइसेन्स” दिनु भएको बताए । उनले अगाडि थपे, ‘अमेरिकी सरकारको पहिलो कर्तव्य आफ्ना नागरिकको सुरक्षा हो, अवैध आप्रवासीको होइन’ ।

यति भनेपछि रिपब्लिकन पार्टीका सांसदहरू उभिएर लामो समयसम्म ताली बजाए भने डेमोक्र्याट सांसदहरू बसिरहे । लगत्तै थप आक्रमक हुँदै ट्रम्पले भने, ‘उभिन नसकेकोमा डेमोक्रेटहरूलाई लाज लाग्नुपर्ने हो, तर मलाई थाहा छ, उनीहरूको लाज पचिसक्यो ।‘

ट्रम्पले आफू अझै ट्यारिफ नीतिमा प्रभावशाली रहेको दाबी गर्दै ट्यारिफलाई कानुनी रूपमा स्थापित गर्न कांग्रेसको आवश्यकता नरहेको बताए । यसो भन्दा उनले अमेरिकी संविधानअनुसार ट्यारिफ निर्धारण गर्ने अधिकार कांग्रेससँग मात्र हुने भएको यथार्थ बिर्सिए । यही क्रममा उनले अर्को एउटा विवादास्पद दावी पनि गरे, ‘विदेशी देशबाट आउने ट्यारिफले भविष्यमा आयकर प्रणालीलाई प्रतिस्थापन गर्ने छ ।‘

सम्बोधनका क्रममा ट्रम्पले इरानसँगको तनावलाई पनि प्रमुख रूपमा उठाए । उनले इरान र त्यसका सहयोगी समूहले हजारौँ अमेरिकी सैनिकमाथि आक्रमण गरेको आरोप लगाउँदै इरानी शासनले हजारौँ प्रदर्शनकारीलाई मारेको पनि दाबी गरे।

इरानको आणविक कार्यक्रमलाई मुख्य खतरा बताउँदै उनले भने आठ महिनाअघि आफूले त्यसलाई पूर्ण रूपमा ध्वस्त पारे पनि फेरि त्यही कार्यक्रम पुनः सुरु गर्न लागेको बताए ।

उनले आतंकवाद प्रायोजक देश इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने बताउँदै त्यसका लागि आफू जे गर्न पनि तयार रहेको बताए ।

ट्रम्पले २०२६ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै मतदाता परिचयपत्रसम्बन्धी कडा कानुन आवश्यक रहेको बताए। उनले धोका नै डेमोक्र्याटहरूको “ राजनीति हो” भन्दै अझै पनि धोका दिन सक्छन् समेत भने । आरोप लगाए।

अमेरिकामा व्यापक निर्वाचन धाँधली भएको बताउदै आएका ट्रम्पले सन् २०२० को निर्वाचन परिणाम नै उल्ट्याउने असफल प्रयास गरेका थिए ।

ट्रम्प तथ्यहरूले साथ नदिने विवादास्पद भाषणका लागि बदनाम छन् । उनले यसपटक पनि अर्थतन्त्र र अन्य विषयमा तथ्यसँग नमिल्ने धेरै दाबीहरू गरे ।

उनले रेकर्ड स्तरको मुद्रास्फीति विरासतमै पाएको मात्र दाबी गरेनन् इतिहासमै सबैभन्दा धेरै मानिसले रोजगार पाएको पनि दाबी गरे । उनले अमेरिकी जनतालाई पूर्ण रूपमा सरक्षित सीमा, अत्यन्त सस्तो इन्धन र १८ ट्रिलियन डलर लगानीको उपहार दिएको भन्न भ्याए ।

अमेरिकी सर्वोच्च अदालतले उनको बहुप्रचारित विश्वव्यापी ट्यारिफ नीतिलाई खारेज गरेको, इरानमाथि सम्भावित सैन्य आक्रमणको दोस्रो चरणबारे विचार गरिरहेको र राजनीतिक लोकप्रियता दुवै कार्यकालकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बेला आएको ट्रम्पको स्टेट अफ युनियन सम्बोधनले अमेरिकी जनातमा खासै आशा जगाउन सकेन । यद्यपि, उनले आफू नै अमेरिका “सुनौलो युग” ल्याउने नेता भएको दाबी पटक पटक दोहोर्याए ।

‘स्टेट अफ द युनियन’ सम्बोधनपछि विपक्षी दल डेमोक्रेटिक पार्टीको तर्फबाट भर्जिनियाकी गभर्नर एबी स्पानबर्गरले प्रतिक्रिया दिइन् । उनले र ट्रम्पको आर्थिक नीतिको आलोचना गर्दै ट्रम्प प्रशासनलाई भ्रष्टाचारले ग्रस्त रहेको आरोप लगाइन्। उनले ट्रम्प ‘झुटो बोल्ने नेता’ भएकोले उनको सम्बोधनमा कुनै विश्वास गर्नलायक तथ्यांक नभएको पनि आरोप लगाइन् ।

स्पानबर्गरको प्रतिक्रिया आगामी मध्यावधि निर्वाचनलाई लक्षित गर्दै डेमोक्र्याटिक पार्टीको स्थापित सन्देशकै निरन्तरता भएको बताइएको छ । यसले डेमोक्र्याट समर्थक र स्वतन्त्र मतदातालाई कति उत्साहित बनाउन सक्छ भन्ने प्रश्नको उत्तर भने गर्भमै छ ।

प्रतिक्रिया दिनुहोस्