
एमालेको ‘गढ’ मानिने रौतहट १ को चुनावी मैदानमा ३९ जना प्रतिस्पर्धी छन् । तर, कडा प्रतिस्पर्धा भने नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसँग नेपाली कांग्रेसका अनिलकुमार झा, नेकपा एमालेका अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी र जसपा नेपालका योगेन्द्रराय यादवको हुने पक्का देखिन्छ ।
गढ फर्काउने दाउमा रहेका गुप्ता, फेरि पनि जितेर सरकारमा पुग्ने मनसाय बोकेका झा, प्रदेशसभाबाट संघतिर लम्केका यादव र परिवर्तनको संवाहक बनेका चौधरीसँग ‘हेभिवेट’ नेता माधवकुमार नेपालको रोचक भिडन्त हुँदैछ । तराईमा गगन र बालेनजस्ता युवा उम्मदेवारको उपस्थितिले ‘मास’ बटुलिरहेको अवस्थामा रौतहटको निर्वाचन साँच्चै रोचक देखिन्छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल नेपाली राजनीतिका एक अनुभवी खेलाडी हुन् । १५ वर्षसम्म नेकपा (एमाले) को नेतृत्व सम्हालिसकेका नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत हुन् । ‘मध्यमार्गी’ नेताको छवि बनाएका नेपाल उग्र वा विद्रोही धारभन्दा पनि वार्ता, सहमति र सहकार्यबाट निकास निकाल्न रुचाउँछन् । २०६२÷६३ को जनआन्दोलन र शान्ति प्रक्रियामा उनको विशेष भूमिका थियो । उनले सात राजनीतिक दल र माओवादीबीच पुलको काम गरेका थिए ।
लामो राजनीतिक अनुभव, कूटनीतिक कुशलता, र साङ्गठनिक ज्ञान बोकेका नेपाललाई रौतहटमा आफ्नो पुरानो विरासत जोगाउने र नयाँ पहिचान बनाउने चुनौती छ । तर, जेनजी आन्दोलनपछि बद्लिएको राजनीतिको ‘ट्रेण्ड’ले उनलाई धेरथोर असर पार्ने नै छ । छैटौं पटक संसदीय चुनावी मैदानमा होमिएका नेपाल पहिलोपटक २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । नेपाल त्यसयता चारपटक सांसद भइसकेका छन् ।
रौतहटबाट २०५६, २०६४, २०७० र २०७९ मा चार पटक चुनाव लडेका नेपाल ०६४ मा मात्र पराजित भएका थिए । २०७४ मा उनी काठमाडौं–२ बाट विजयी भएका थिए । २०७९ को निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार बनेका नेपाललाई यसपटक व्यक्तिगत र पार्टीको भरमा मतदातालाई रिझाउनुपर्ने चुनौती छ ।
बाँकी भिडिओमा…











