काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रको शुक्रवार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा अर्यालले विगतमा भएका कमिकमजोरीलाई सच्याई यसपटको निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलिरहित र निर्धक्कसाथ शान्तिपूर्वक गराउनेगरी वातावरण बनाउन निर्देशन दिए ।

मन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षलाई अनुरोध समेत गरेका हुन् ।
शुक्रवार बिहान गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनकासाथै निर्वाचन सुरक्षाबारे स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको थियो ।
अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, एआईजी गणेश ठाडा मगर, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह-प्रवक्ता रमा आचार्य, डिआइजी विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा र वडा सदस्य सोम्बर बहादुर तामाङको सहभागिता रहेका थियो ।
अनुगमनमा सहभागी सह-प्रवक्ता आचार्यका अनुसार छलफलमा विस २०७९ को स्थानीय निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका बारेमा जानकारी दिनुका साथै प्रतिनिधिसभाको निर्वाचन सुरक्षा योजनाबारे जानकारी दिइएको थियो ।
विगतमा मतदान केन्द्रमा भएको संवेदनशीलता र समस्यालाई ध्यान दिएर अहिले विभिन्न नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको जनाइएको छ । बैदेश्वर गाउँपालिकामा मतदान स्थल ८, मतदान केन्द्र २१ र मतदाता सङ्ख्या १८ हजार ४ सय २२ रहेका छन् ।











