Logo
Logo

नेता-कार्यकर्तालाई फेसबुक छाडेर घरदैलो अभियानमा लाग्न गगनको निर्देशन


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र सीमित नभई निर्वाचन प्रचारमा सक्रिय हुन आग्रह गरेका छन् ।

रूपन्देहीको बुटवलमा शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचन नजिकिँदै गएको भन्दै नेता-कार्यकर्तालाई अलमल नगरी घर–घर पुग्न निर्देशन दिए । उनले भने, ‘पार्टीका सबै साथीहरूलाई मेरो आग्रह छ- अब केही दिन मात्र बाँकी छ । कोही पनि अलमल नगर्नुस् । घर–घर जानुस् सामाजिक सञ्जालमा आफ्ना कुरा राख्नुस्, तर त्यहाँ मात्र अड्किएर नबस्नुस् ।’

उनले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति सङ्गठन नै भएको उल्लेख गर्दै कार्यकर्ताहरूलाई चुनावी प्रचार-प्रसारका लागि घरदैलो अभियान सञ्चालन गर्न, युवाहरूसँग संवाद गर्न र उनीहरूका कुरा सुन्न जोड दिए । उनले भने, ‘हाम्रो मुख्य ताकत सङ्गठनको शक्ति हो । आफ्ना खुट्टा चलाउनुस्, घर–घर पुग्नुस् । हात चलाउनुस्, गएर अभिवादन गर्नुस् । मुख चलाउनुस्, संवाद गर्नुस् । युवाहरूको कुरा सुन्नुस् ।’ 

सभापतिले युवाहरूसँग कुरा गर्दा सुरुमा उनीहरूले गाली गर्न सक्ने सम्भावना रहेको भन्दै त्यसलाई सहन तयार रहन र पार्टीको नयाँ सङ्कल्पबारे स्पष्ट पार्न आग्रह गरे । थापाले भने, ‘उनीहरूले पहिले दुई–चार लाइन गाली गर्न सक्छन् । राम्रोसँग संवाद गर्नुस् र भन्नुस्- यो कांग्रेस विशेष महाधिवेशनबाट नयाँ सङ्कल्प लिएर आएको छ । हिजोका सबै राम्रा कुरालाई बोक्छु, खराब कुरालाई छोड्छु भन्ने नयाँ सङ्कल्प हो यो । यो कांग्रेसले मौका पाउनुपर्छ । ५ वर्षभित्र परिणाम दिने मात्र होइन, प्रतिज्ञा गरेर आएको छ ।’ 

थापाले उत्तेजनात्मक राजनीतिमा नबहकिन आग्रह गर्दै भने, ‘उत्तेजनाको राजनीतिमा धेरै नबहकिऊँ । टेलिफोन र सामाजिक सञ्जालले धेरैलाई भ्रममा पार्छ । बेलुका घर गएर हेर्दा युट्युब र फेसबुकले झुक्याएको पाइन्छ । भ्रममा नपर्नुस् ।’ थापाले विदेशमा रहेका नेपालीहरूबाट पनि सहयोगको अपेक्षा राख्दै भने, ‘संसारभर छरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आह्वान गर्छु-तपाईँहरूको सहयोग चाहिएको छ । हामी सबै मिलेर बलियो ताकत बनाऔँ ।’

प्रतिक्रिया दिनुहोस्