
काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनको मतदानको समय हेलिकोप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको हो ।
भोलि देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले सुरक्षा मजबुत बनाउन मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय भएको जानकारी दिइन् ।
त्यस्तै गस्ती र आपतकालीन प्रयोजनको लागि हेलिकप्टर स्ट्याण्डबाई राख्ने निर्णय गरिएको छ । केन्द्रीय सुरक्षा समितिले भोलि हुने निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको छ ।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।











