
काठमाडौं । मतदातालाई पैसा बाँडेको आरोपमा धनुषा निर्वाचन क्षेत्र ४ का एक उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरमा मतदातालाई पैसा बाँडेको आरोपमा धनुषा प्रहरीले निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरालाई पक्राउ गरेको हो ।
राति करीब १२ बजे ४८ हजार ५ सय रुपैयाँ नगद र हिसाबकिताब गरिएको डायरीसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।
पैसा बाँडिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले महरालाई नियन्त्रणमा लिएको हो । उनलाई थप कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय धनुषामा पठाइएको छ ।











