
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमा रकमसहित पक्राउ परेका सिराहा निर्वाचन क्षेत्र नम्बर ३ का जसपा उम्मेदवार अशेश्वर यादव रिहा भएका छन् ।
निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत रकमसहित पक्राउ परेका यादवलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउने सर्तमा रिहा गरिएको हो । उनीसँगै पक्राउ परेका अन्य ४ जनालाई पनि प्रहरीले छाडेको छ ।
सिराहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले सम्पूर्ण कागजातहरूको अध्ययन पश्चात ३ दिनभित्र स्पष्टीकरण बुझाउने समय सीमा दिइएको बताए ।
बरामद रकम र गाडीसहितका सामाग्री तत्काललाई सिज गरिएको उप्रेतीले जानकारी दिए । उनले अहिले अनुसन्धान जारी रहेको र निर्वाचन कानुनअनुसार कारबाही हुने समेत बताए ।
प्रहरीले गएराति मौन अवधिका बेला नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित यादवलाई नियन्त्रणमा लिएको थियो ।
माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र.२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीमा संयुक्त चेकजाँच गर्ने क्रममा उक्त रकमसहित यादव नेतृत्वको समूह पक्राउ परेको थियो ।
यादवसहित विष्णुपुर ५ लक्ष्मीपुरका ३२ वर्षीय श्यामकुमार यादव, ३५ वर्षीय रामप्रवेश यादव, ४० वर्षीय बप्रेन्द्रकुमार यादव र सवारी चालक नरहा ३ का २८ को जितेन्द्रकुमार महतो पनि पक्राउ परेका थिए ।
मौन अवधिमा आर्थिक लेनदेन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३० को उपदफा (१) र (२) बमोजिम जरिवाना गर्न सक्ने आचारसंहितामा उल्लेख छ ।











