Logo
Logo

दिनभरि रुघ्यो, मतपेटिका रित्तै


2.6k
Shares

दार्चुला । जिल्लाका दुई मतदान केन्द्रमा स्थानीय मतदाताले निर्वाचन नै बहिष्कार गरेका छन्, जसका कारण दिनभरि मतदान केन्द्र खुला रहे पनि मतपेटिका प्रायः रित्तै रह्यो ।

नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर माध्यमिक विद्यालय, नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय, झुस्कुका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् ।

स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किँदै छन् । दुवै मतदान केन्द्रमा रहेका अस्थायी मतदाता (कर्मचारी)हरूले मात्र समानुपातिकतर्फ मतदान गरेका छन् ।

गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ । दुर्गम र अप्ठ्यारो बाटो भएका कारण कर्मचारीहरू शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनले बताए । उक्त मतदान केन्द्रमा ६०२ जना मतदाता थिए ।

उता अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय, झुस्कुमा समानुपातिकतर्फ ८ मत खसेको छ। स्थानीयले निर्वाचन बहिष्कार गरेपछि कर्मचारीहरूले हालेको समानुपातिकतर्फको मत मात्र लिएर सदरमुकाम फर्किएको मतदान अधिकृत प्रेमराज अवस्थीले जानकारी दिए।

नागुका बासिन्दाले एक महिनादेखि सडकलगायतका विकास निर्माणका माग राख्दै निर्वाचन बहिष्कारको घोषणा गरेका थिए। स्थानीयलाई मतदानमा सहभागी गराउन राजनीतिक दलहरूले सार्वजनिक अपिल गर्नुका साथै भर्चुअल संवादसमेत गरेका थिए। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि स्थानीयसँग छलफल गरेका थिए।

बुधबार मात्रै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव वैकुण्ठ अर्याल नागु पुगेर स्थानीयसँग छलफल गरेका थिए। तर पनि स्थानीय आफ्नो अडानबाट पछि हटेनन्।

माघ १ गतेदेखि संघर्ष समिति गठन गरी ‘नो भोट’ अभियान सुरु गरेका नागुबासीले यसपटकको निर्वाचनमा मतदान नगर्ने निर्णय यथावत राखेका कारण मतपेटिका रित्तै फर्किएको संघर्ष समितिका संयोजक करनसिंह डडालले बताए।

यस्तै, अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले फागुन १५ गतेदेखि ‘नो भोट’ अभियान सञ्चालन गरेका थिए। २०७४ सालमा भएको वडा विभाजनका कारण वडा नम्बर ३ का अधिकांश बस्तीका लागि वडा कार्यालय अपायक स्थानमा परेकाले वडा पुनः विभाजन नभएसम्म मतदान नगर्ने निर्णय स्थानीयले गरेका हुन्।

यस क्षेत्रका झुस्कु, चौड, छविस र भट्टार गाउँका मतदाताले मतदान नगरेका हुन्।

प्रतिक्रिया दिनुहोस्