काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई निलम्बन गरेको घटनामा गोपनीयता चुहाएर विश्वासघात गर्नेलाई उन्मुक्ति नहुने बताएका छन् ।

गृहमन्त्रालयले सोमबार साँझ गोप्य सूचना चुहाएको आरोपमा एआइजी दाहाललाई निलम्बन गरेको थियो । मन्त्रालयले छानबिन गर्न समिति समेत गठन गरेको छ ।
उक्त निलम्बनको सन्दर्भमा गृहमन्त्री गुरूङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ ।’
उनले गोप्य सूचना चुहाउने प्रवृत्ति लामो समयदेखि देखिरहेको उल्लेख गरेका छन् । गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु ।’













