Logo
Logo

अस्थिरताको अन्त्य कि नयाँ परीक्षा?


शरद् रिजाल

378
Shares

भनिन्छ– अदालतको आदेश र जनताको जनादेश जति अप्रिय लागे पनि सम्मानित र सर्वस्वीकार्य हुन्छ । यही फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम पनि त्यस्तै भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पक्षमा आएको अभूतपूर्व जनलहर परम्परागत दललाई अनपेक्षित लागे पनि जनताको जनादेश स्विकार्दै आफ्नै कमजोरीको आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको छ ।

यो निर्वाचनको मत परिणाम रास्वपाको पक्षमा अप्रत्याशित रूपमा त्यसै आएको होइन, यसको पृष्ठभूमि केलाउने हो भने विगतदेखि जनतामाथि यिनै दलहरूको धोकाधडीको सजाय जनताले मत परिवर्तन गर्दै दिएका हुन् । कांग्रेस, एमाले र नेकपाको लज्जास्पद मत परिणाम आउनुको मुख्य कारण जनताको अपेक्षामाथिको पटक पटकको कुठाराघात नै हो । ३५ वर्षदेखि पटकपटक अवसर दिँदा पनि परिणाम दिन नसक्दा नै जनताले परम्परागत दलहरूलाई अस्तित्व रक्षाको गम्भीर संकटमा धकेलिदिएका छन् ।

मुलुकमा गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले पुराना दल र नेताहरूलाई राजनीतिक रूपमै सच्चिन चेतावनी दिएको थियो । तर त्यस्तो गुञ्जायस नदेखिएपछि यो निर्वाचनले विगतदेखिको राजनीतिक अस्थिरता र बेथितिको थप कसुरदार ठह¥याउँदै मतमार्फत विद्यमान दललाई अस्वीकृत गरेका हुन् ।

कांग्रेस, एमाले र नेकपा लगायतका परम्परागत दलहरूको पक्षमा अत्यन्त न्यून मत परिणाम आउनुले जनतामा उनीहरूप्रति चरम असन्तुष्टि अझै कायमै रहेको दर्साउँछ । दलहरूले जेनजी विद्रोहको मर्मलाई आत्मसात गर्दै रूपान्तरित भएको घोषणा गरे पनि पटक पटकको धोकाबाट आजित भएका जनताले विश्वास गर्न नसक्दा यस्तो अनपेक्षित मत परिणाम आएको हो ।

यस निर्वाचनमा अधिकांश पूर्वप्रधानमन्त्रीहरुले समेत लज्जास्पद पराजय व्यहोरेका छन् । झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतान्तरले पराजित गरेका छन् । अर्का नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपाल पनि भारी मतान्तरले पराजित भएका छन् । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने चुनाव क्षेत्र परिवर्तन गर्दै पुरानै आधार इलाकामा फर्केर जित निकाल्न सफल भएका छन् ।

यसले लोकतन्त्रमा जनता कसैको दास नभएर निर्णायक शक्ति र इतिहासका निर्माता भएको सन्देश दिँदै दल र नेताहरूले आफ्ना गैरजिम्मेवार क्रियाकलापलाई आत्मसमीक्षा गर्नुपर्ने अवस्था पैदा गरेको छ । यो निर्वाचनले लोकतन्त्रमा जनताको अपेक्षा अनुरूप दलहरू रूपान्तरित हुन नसके त्यसको सजाय जनताले मतमार्फत दिलाउने गहिरो सबक पनि सिकाएको छ ।

एमालेको सरकारले नयाँ शक्तिको रूपमा उदय भएको रास्वपालाई बदनाम गर्न रास्वपाका सभापति रवि लामिछानेमाथि साँधिएको प्रतिशोधको जवाफ पनि जनताले मत मार्फत दिएका हुन् । अहिले रास्वपाले प्राप्त गरेको करिब दुई तिहाइ बहुुमतसहितको जितलाई पुराना दलहरूले अस्वाभाविक तवरले चित्रण गर्न समेत थालेका छन् । एमाले नेताहरूले भूराजनीतिक योजना अनुरूप पूर्वनिर्धारित परिणामको संज्ञा दिँदै आफ्नो कमजोरी लुकाउने कुचेष्टा गरेका छन् । तर, ती सबै आफ्नो लाज ढाक्न ‘अनुहारमा लागेको फोहोर अनदेखा गरी ऐना सफा गर्ने’दुस्प्रयास जस्तै निराधार आरोप र अफवाह मात्रै हुन् ।

यसको मुख्य कारण दलहरूले आफूलाई सर्वोपरि ठान्ने चरम सर्वसत्तावादी प्रवृत्ति नै हो । सधैँ जनभावनामाथि उपेक्षा गर्दै आफ्नो आधिपत्य कायम गर्ने दुस्साहस गरेपछि जनताले मतमार्फत प्रतिवाद गरेका हुन् । लोकतन्त्रमा जनताको मत नै सर्वेसर्वा हुने र त्यसले नै दलीय हैसियत निर्धारण गर्छ भन्ने सामान्य हेक्का नराखी मनोमानी ढंगले अघि बढ्न खोज्दा नै यस्तो परिणति निम्तिएको हो ।

जनताले आवश्यकता अनुसार ब्यालेट र बुलेट दुबैबाट विगतका शासकलाई सत्ताच्यूत गरेको इतिहास यति छिट्टै बिर्सिएपछि जनताले मत मार्फत यसपटक पुनःस्मरण गराएका हुन् । जनताले दल र तिनका नेताहरूका हरेक अनुत्तरदायी गतिविधि नियाल्दै त्यसको बदला लिने उचित अवसरको रूपमा यो निर्वाचनलाई राम्रैसँग सदुपयोग गरेका छन् ।

अहिलेको मत परिणाम अनुसार रास्वपा दुई तिहाइ बहुमतसहित पहिलो पार्टी बन्ने भएको छ । कांग्रेस, एमाले र नेकपाले विगतको विरासत गुमाएर निकै सानो आकारमा खुम्चिएका छन् । परम्परागत दलको गढ भनिने निर्वाचन क्षेत्र समेत यसपालि रास्वपाको आँधीमय उभारले क्षतविक्षत बनाएको छ ।

विगतदेखि नै वामपन्थी दल नेमकिपाको आधार क्षेत्रका रूपमा परिचित भक्तपुर–१ समेत यसपटक जोगिन सकेन । जनताको जीवनयापनसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत सेवाहरू सर्वसुलभ रूपमा प्रदान गर्दै समाजवादको असली अभ्यास गरेको नेमकिपाले समेत यसपालि पराजय व्यहोरेको छ ।

अर्को, साबिक माओवादीको आधार क्षेत्रका रूपमा रहेको रुकुम पूर्वमा भने नेकपाका संयोजक प्रचण्डले जित हासिल गरेर आफ्नो साख जोगाउन सफल भएका छन् । पूर्ववत् माओवादीको बलियो साङ्गठनिक पकड भएको क्षेत्र भएकाले मात्रै उनको जित त्यहाँ सम्भव भएको हो ।

त्यस्तै, रोल्पा, पश्चिम रुकुम, सल्यान र कालीकोटमा पनि पूर्व माओवादीको बलियो प्रभाव क्षेत्र कायमै रहेकाले नेकपाले आफ्नो पूर्ववत् जित सुरक्षित गरेको छ । एमालेमा भने यस निर्वाचनले अध्यक्ष ओलीको अहंकारको विधिवत् अन्त्य गर्दै उनकै कारण पार्टीलाई भने सर्मनाक पराजयको अवस्थामा पु¥याएको छ ।

यस मत परिणामको अर्को रोचक पक्ष के छ भने मतदाताले उम्मेदवारको अनुभव, योग्यता र क्षमता भन्दा पनि एउटै दल रास्वपालाई बहुमत दिलाउने मनशायले अधिकांश स्थानमा मत परिवर्तन गरेका छन् । राजनीतिक पृष्ठभूमि भएका उम्मेदवारहरूको लज्जास्पद पराजय र भिन्न क्षेत्रबाट पहिलोपटक चुनावी मैदानमा उत्रिए पनि रास्वपाकै उम्मेदवार भएकै भरमा जनताले शानदार रूपमा जिताएका छन् । यो परम्परागत दलहरूको राजनीतिक एजेन्डा र त्यसलाई कार्यान्वयन नगर्ने विगतका विरोधाभाषी प्रवृत्तिलाई जनस्तरबाटै अस्वीकृत गर्दै रास्वपालाई पहिलो पटक काम गर्ने पूर्ण अवसर दिइएको उदाहरण हो ।

विगतदेखि दलहरूले आफ्नै सत्तास्वार्थले व्याप्त राजनीतिक अस्थिरताको दोषारोपण निर्वाचन प्रणालीमाथि लगाउँदै एकल बहुमत नआउने भाष्य खडा गरेर आफ्नो बचाउ गर्दै आएका थिए । त्यही देखेरै जनताले यसपटक एउटै दल रास्वपालाई एकल रूपमै परिणाममुखी काम गर्ने गरी बहुमत दिलाएर पाँचै वर्ष काम गर्ने जनादेश प्रदान गरेका छन् ।

यो निर्वाचनमा महत्वाकांक्षी राजनीतिक एजेन्डा बोकेका दल र उम्मेदवार भन्दा पनि काम गर्न सक्ने संसदीय अंकगणित नै जनताको पहिलो प्राथमिकता बनेको छ । अन्य दलका योग्य उम्मेदवारलाई अस्वीकार गर्दै निर्वाचनको सन्निकट पार्टी बदलेर रास्वपाको उम्मेदवार बनेकालाई समेत जिताएर संसद्मा रास्वपाकै एकछत्र वर्चस्व कायम गराउने जनचाहना यो मतपरिणामले उजागर गरेको छ ।

यसबाट विगतको संसद्मा एउटै दलको बहुमत नहुँदा त्यसले निम्ताएको राजनीतिक अस्थिरताप्रति सचेत रहँदै रास्वपाकै नेतृत्वमा दुई तिहाइ बहुमतसहितको बलियो सरकार बनेर परिणाममुखी काम गर्न सकोस् भन्ने जनअपेक्षा मतमार्फत प्रकट भएको प्रस्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्