Logo
Logo

‘हर्कवाद’को राष्ट्रिय छलाङ, सदनमा रास्वपासँग ‘वार’ !


0
Shares

काठमाडौं । हिजो सडकको धुलोमा उभिएर बेथितिविरुद्ध एक्लै गर्जने विद्रोही हर्क साम्पाङ, आज मुलुकको भाग्य लेख्ने सर्वोच्च थलोमा पुगेका छन् । ठूला दलका दशकौँ पुरानो विरासत र रास्वपाको देशव्यापी आँधीलाई चिर्दै श्रम संस्कृति पार्टीलाई राष्ट्रिय शक्ति बनाउनु चानचुने उपलब्धि होइन । तर, कसरी उदायो यो नयाँ शक्ति ? कहिले खटपट त कहिले ‘लभ यू’ चल्ने बालेन–हर्कको रोचक सम्बन्धले सदनमा कस्तो तरङ्ग पैदा गर्ला ?  

The current image has no alternative text. The file name is: hark-1.jpg

धरानको धुलाम्मे सडकमा एक्लै उभिएर ‘बेथिति’विरुद्ध कराउने एउटा विद्रोही युवक आज आफ्नै टिमसहित मुलुकको नीति निर्माण हुने थलो प्रतिनिधिसभामा पुगेका छन् । जेनजी विद्रोहको रापताप र परम्परागत दलका दशकौँ पुरानो विरासतलाई चिर्दै प्रतिनिधिसभा पुगेका हर्क साम्पाङको यो राजनीतिक यात्रा कुनै फिल्मी पटकथाभन्दा कम छैन । उनका अगाडि न क्यामेराको चमकधमक थियो, न त चिल्ला गाडीहरूको तामझामपूर्ण लस्कर । तर त्यसले के फरक पा¥यो र ? धुलो र माटोसँग खेल्ने जनताले ‘जय माटो’ भन्दै उनैलाई अघि बढाइदिए ।

आखिर सत्ताको साँचो महँगा गाडी चढ्नेहरूसँग होइन, डोको र कोदालो बोक्नेहरूसँग हुँदो रहेछ भन्ने प्रमाण हो यो । यो केवल एउटा राजनीतिक दलको उदय मात्र होइन, श्रमजीवी वर्गको स्वाभिमानको पुनर्जागरण पनि हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहरमा अन्य वैकल्पिक शक्ति र स्थापित पुराना दलहरूले संर्घष गरिरहेको बेला श्रम संस्कृतिले राष्ट्रिय दलको मान्यता पाउनु कुनै चानचुने कुरा होइन । 

धरानको मेयर बन्नुअघि हर्क साम्पाङ सामाजिक अभियन्ता थिए । धराने जनतालाई पानी खुवाउने एजेन्डाकै बलमा उनी मेयर बने । त्यतिबेलासम्म उनीसँग न बलियो सङ्गठन थियो, न ठूलो प्रचार संयन्त्र । तर जनविश्वासकै बलमा उनले चुनाव जिते । स्वच्छ पानी, सरसफाइ र श्रमदानका अभियानले सिर्जना गरेको ऊर्जा नै उनको जितको आधार बन्यो । खानेपानीको परियोजना माग गर्दै उनले सङ्घीय सरकारको ढोका पनि चहारे । त्यस क्रममा उनी धरानबाटै खाली गाग्री बोकेर सिंहदरबारसम्म पुगे । 

मेयर बनेपछि साम्पाङले परम्परागत प्रशासनिक ढाँचाभन्दा फरक शैली अपनाए ।  श्रमदानमार्फत विकास, जनसहभागितामा आधारित योजना र सार्वजनिक रूपमा प्रत्यक्ष काम गरे । यही शैलीले उनलाई निरन्तर चर्चामा राख्यो । कामको चर्चा राष्ट्रिय स्तरमै भयो । सामाजिक सञ्जालमा सक्रियता, स्पष्ट र बेलाग बोल्ने शैली तथा कहिलेकाहीँ अन्य नेताहरूप्रति सार्वजनिक टिप्पणीका कारण उनी समर्थन र आलोचना दुवैको केन्द्र बने । तर यही कारणले धेरै जनताले उनलाई आफ्नो प्रतिनिधिको रूपमा स्वीकार गरे । ढुङ्गा बोकेर हिँड्ने, ढल सफा गर्ने, जनतासँगै घामपानीमा काम गर्ने शैलीले उनको छवि परम्परागत नेताभन्दा फरक बनायो । यही सक्रियताले उनलाई जनस्तरमा लोकप्रिय बनाउँदै राष्ट्रिय राजनीतितर्फ डो¥यायो । उनले ढुङ्गा बोक्ने र पसिना बगाउने ‘श्रम संस्कृति’लाई नै आफ्नो राजनीतिक दर्शन (हर्कवाद) बनाए । साम्पाङले अघि सारेको प्रकृति–संस्कृति–प्रविधिको त्रिवेणी अर्थात् ‘हर्कवाद’लाई पूर्वी पहाडका मतदाताले अनुमोदन पनि गरिदिए । 

 बाँकी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्