Logo
Logo

बालेनको मौन सक्रियताः परम्परागत दलहरूलाई गम्भीर शिक्षा


शरद रिजाल

0
Shares


निकै अप्रत्याशित र छलाङमय तरिकाले राष्ट्रिय राजनीतिमा उदाएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीले परम्परागत दल र त्यसका नेताहरूलाई झस्क्याएको छ । गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका बालेनले अहिलेसम्म सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । उनले नबोलेरै आफ्नो कामलाई धमाधम अघि बढाएका छन् । गत चैत २६ गते नेपाली सेनाका अधिकृतहरूको दीक्षान्त समारोहमा सैनिक अधिकृतहरूलाई सम्बोधन गर्ने बाहेक अन्य कुनै पनि सार्वजनिक कार्यक्रममा उनी सहभागीसमेत भएका छैनन् ।

यसअघि मुलुकमा राजनीतिक दलका नेताहरूको भाषणले जनताको कानै दुख्थ्यो । सार्वजनिक समारोहमा भाषणका लागि तँछाडमछाड गर्ने प्रवृत्तिका विरुद्ध मौन रूपमा काम गर्ने बालेनको कार्यशैलीले धेरैलाई अचम्मित तुल्याएको छ ।

हेर्दा सामान्य लाग्ने यो शैली परम्परागत शासकीय प्रवृत्ति एवं मान्यतालाई परास्त गर्ने पृथक् शैली हो । यसले काम नगरी भाषणबाजी मात्र गर्दै जनतालाई झुटको पुलिन्दा बाँडेर आश्वासनको राजनीति गर्नेहरूप्रति लाक्षणिकरुपमा कटाक्ष पनि हो ।

विगतमा भाषणमा घरघरमा ग्यासको पाइप पु¥याउनेदेखि जनतालाई उल्लु बनाउने काम गरिँदै आइएको थियो । जनताका समस्या सम्बोधन गर्नुको साटो लुट र भ्रष्टाचारमा सत्तासीनहरू लिप्त थिए । तर, प्रधानमन्त्री बालेनले भने यस विपरीत भाषणमा समय खर्च नगरी तदारुकताका साथ सुधारउन्मुख कदम अघि बढाएका छन् । यो परम्परागत दलहरूको भाषणमुखी क्रियाकलाप्रति व्यङ्ग्यात्मक प्रहार पनि हो ।

प्रधानमन्त्री बालेनले शासकीय सुधारका लागि अध्यादेशमार्फत प्रभावकारी कदम चालेका छन् । राजनीतिक दलको आशीर्वाद लिएर राजनीतिक नियुक्ति लिएकादेखि सरकारी जग्गा हडपेर बसेकाहरूलाई हटाउने कानुनी प्रबन्ध मिलाएर सुशासनको यात्रा आरम्भ गरेका छन् । उनको यस कदम दलीय कारिन्दालाई अस्वीकार्य भए पनि यो सुशासनका लागि सकारात्मक पहलकदमी हो ।

अहिलेसम्म उनले संसदमा समेत एकपटक पनि सम्बोधन गरका छैनन् । यस बारे अनेकौँ टिप्पणी गरे पनि उनलाई त्यसको कुनै परवाह छैन । उनी आफ्नो सुशासनको मिसनमा दत्तचित्त भएर लागेका छन् । सचेत नागरिकले पनि बोल्ने नेताबाट आजित भएर काम गर्ने नेतृत्व खोजेका थिए । त्यही जनभावना बुझेका बालेनले सोहीअनुसार नबोलेरै सुशासनको पक्षमा सकारात्मक कदम चालेका हुन् ।

उपत्यकासहित देशभरका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने उनको अग्रसरता प्रशंसनीय छ । वर्षौँदेखि भाडा नतिरेर सार्वजनिक जग्गा उपभोग गर्दै आएकाहरूलाई कानुन बमोजिम भाडा तिर्न ताकेता गर्दै ती संरचनामा ताला लगाउन निर्देशित गरेका छन् । विगतदेखिका शासकले गर्न नसकेका यी काम हेर्दा सामान्य लागेपनि दुरगामी महत्वको छ । यसले मुलुकमा कानुनी राज्यको छनक दिँदै बलियो सरकार भएको आभास दिलाएको छ ।

सरकारी कार्यालयमा बिचौलिया राजको अन्त्य भएको छ । मुलुकको गरिमा कायम राख्ने राजदूत लगायतका कूटनीतिक पदमा दलीय भागबन्डा अन्त्य गरिँदै छ । सरकारी कामकाजमा झन्झटिलो कागजी प्रक्रिया अन्त्य गरी प्रविधिमैत्री बनाउने प्रक्रिया सुरु भएको छ । जनताले दैनिक सरकारी कामकाजमै बालेन सरकारको प्रत्यक्ष अनुभूति गर्न थालेका छन् । यस्तै दैनिक जीवनमै सहजता प्रदान गर्ने सरकार जनताले खोजेका हुन् । आश्वासनको भाषण छाँटेर केही नगर्ने भन्दा नबोलेरै काम गर्ने सरकारप्रति जनता खुसी देखिन्छन् ।

विदेशी नियोगका कर्मचारीदेखि राजदूतसम्म प्रधानमन्त्री निवास बालुवाटार पुगेर गोप्य भेटघाट गर्ने परम्परागत प्रचलनलाई उनले बन्देज लगाएका छन् । राजदूतहरूसँग सामूहिक भेट गर्ने वातावरण मिलाएर मुलुककै कूटनीतिक मर्यादा बढोत्तरी गरेका छन् । अन्य विदेशी पदाधिकारीलाई परराष्ट्रमन्त्रीले नै भेट गर्ने थिति बसाउँदै प्रधानमन्त्रीसँग सहजै भेट गर्ने विगतदेखिकै गलत परम्परा तोडेका छन् ।

यसरी प्रधानमन्त्री बालेनका यिनै सुशासनउन्मुख सकारात्मक सूचकले जनमानसमा आशा जागेको छ । उनको यस कदमले विगतदेखिको दलतन्त्र र त्यसको आडमा मौलाएको राजनीतिक एवं प्रशासनिक क्षेत्रको मनोमानी अन्त्य गर्ने संकेत गरेको छ । यसले आगामी दिनमा मुलुकको राजनीति उचित र सकारात्मक दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ ।

बालेनको कतिपय स्वभाव र प्रस्तुति आलोचनात्मक खालका नभएका होइनन् । उनी मन्त्रिपरिषद्को बैठकमा उपस्थित हुँदाको अनौपचारिक पोसाक प्रधानमन्त्रीका लागि शोभनीय छैन । राष्ट्रको प्रतिनिधित्व गर्ने कार्यकारी प्रमुखले मन्त्रिपरिषद् बैठकमा औपचारिक तथा मर्यादित तवरले प्रस्तुत हुनुपर्छ । मुलुकको कार्यकारी प्रमुखले राष्ट्रिय पोसाकमा आफूलाई प्रस्तुत गर्न जरुरी छ । यसबाहेक उनका अन्य कदम भने सह्रानीय छन् ।

बालेनको राजनीतक उदय परम्परागत दलहरूकै अक्षमताकै जगमा निर्मित हो । गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमै परम्परागत दलको गठबन्धनलाई पराजित गर्दै स्वतन्त्ररुपमै जित हात पारेर उनको राजनीतिक उदय भएको थियो । बालेनको त्यो जित फगत मेयरको जित मात्रै नभएर परम्परागत दलको आधिपत्य जनस्तरबाटै अस्वीकार्यको पूर्वसंकेत थियो । सांगठनिक बलमा पार्टी सदस्यको दम्भ प्रदर्शन गर्दै नेपाली राजनीतिमा दलीय आधिपत्य लाद्ने परम्परागत दल विरुद्ध जनस्तरबाटै बालेनमार्फत विद्रोहको शंखघोष थियो ।

त्यो मौन विद्रोहलाई समयमै बुझ्न नसक्दा शासकीय दम्भका कारण जेनजी विद्रोहले दलहरू लखेटिनुपर्यो भने गत फागुन २१ को निर्वाचनबाट लज्जास्पद पराजय ब्यहोर्ने स्थिति निम्तियो । यो नेपाली राजनीतिमा दलीयता विरुद्धको बालेन विद्रोहलाई बुझ्न नसक्दाकै दुष्परिणाम हो ।

बालेन मेयर हुँदै प्रधानमन्त्री हुनु उनको राजनीतिक उदय मात्रै नभएर नेपाली राजनीतिमा नयाँ युगको सुरुवात पनि हो । यो पुस्तान्तरण, परम्परागत दलीय प्रवृत्ति र कार्यशैलीकै रूपान्तरण हो । नेपाली राजनीतिमा यसको बहुआयामिक महत्त्व छ ।

कांग्रेस, एमाले र नेकपामा यत्तिको उमेरमा युवा विद्यार्थीको भातृसंगठनको नेतृत्व गर्ने अवसर समेत नदिने विडम्बनापूर्ण अवस्थामा ३६ वर्षीय बालेनले देशको बागडोर सम्हालेका छन् । यो सामान्य विषय होइन, परम्परागत दलहरूलाई नेतृत्व परिवर्तन, पुस्तान्तरण र युवाहरूको नेतृत्वदायी तहमा सहभागिताका लागि नैतिक दबाब हो ।

हालैको निर्वाचन परिणामले नेपाली राजनीतिको भाष्य नै बदलिदिएको छ । पुस्तान्तरण आरम्भ गर्दै अमूर्त भाषणको अन्त्य र व्यावहारिक कार्यशैलीमा कायापलट ल्याएको छ । त्यसकै एक बिम्बको रूपमा बालेनले प्रधानमन्त्रीको कार्यभार सम्हालेर उनको पृथक् कार्यशैलीले नेपाली राजनीतिको परम्परागत मूल्य मान्यताकै पुनर्परिभाषित गरेको छ ।

यो किमार्थ सामान्य परिवर्तन नभएर नेपाली राजनीतिमा नयाँ संस्कारको सुरुवात हो । तथापि, सरकारको आगामी दिनमा अन्य राष्ट्रिय महत्वका दूरगामी निर्णय र प्रभाव बारे अहिल्यै आकलन गर्नु हतारो हुन्छ । त्यसबाहेक बालेन सरकारले राजनीति र शासकीय सुधारमा भने सकारात्मक थालनी गर्दै परम्परागत दलहरूलाई रूपान्तरण र पुस्तान्तरणबारे दिएको सन्देश शिक्षाप्रद छ । यसबाट सबक सिक्दै परिष्कृत भएर अघि बढ्ने या विरोधका निम्ति विरोध गरेर थप राजनीतिक क्षति निम्त्याउने त्यो भने, परम्परागत दलहरूकै विवेकमा निर्भर गर्दछ ।

प्रतिक्रिया दिनुहोस्