काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल लिने इच्छा प्रकट गरेका छन् । यसैबीच उनले खार्ग टापुको निर्यात केन्द्र कब्जा गर्न सक्ने चेतावनी दिएका छन् ।

आइतबार फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले भेनेजुएला जसरी नै इरानको तेलमा अनिश्चितकालका लागि अमेरिकाले नियन्त्रण जमाउनसक्ने बताएका हुन् ।
२८ फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमा आक्रमण गरेका थिए । जसकारण पछिल्लो एक महिना कच्चा तेलको मूल्य निकै बढेको छ । सोमबार बिहान एसियामा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुगेको छ ।
ट्रम्पले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा, मेरो मनपर्ने काम इरानबाट तेल लिनु हो । तर अमेरिकामा रहेका केही मूर्ख मानिसहरू भन्छन्, ‘तपाईं किन त्यसो गर्दै हुनुहुन्छरु’ तर तिनीहरू मूर्ख हुन् ।’
ट्रम्पले पश्चिम एशियामा अमेरिकी सेनालाई बलियो बनाउँदै लगेका छन् । खार्ग टापुमा आक्रमण गर्ने लक्ष्यसहित पेन्टागनले तालिम प्राप्त १०,००० सेनालाई पश्चिम एशियामा तैनाथ गर्ने विषयमा ह्वाइट हाउससँग छलफल गरिरहेको छ । शुक्रवार लगभग ३,५०० सय जल सेना पश्चिम एशिया पुगेका छन्, जसमा झन्डै २२ सय जलसेना छन् ।
खार्ग टापु इरानको मुख्य तेल निर्यात केन्द्र हो । इरानका तेलखानीबाट यहाँ पाइपलाइनमार्फत तेल ल्याइन्छ र प्रशोधन गरेर विश्वबजारमा पठाइन्छ । इरानले निर्यात गर्ने तेलमध्ये ९० देखि ९५ प्रतिशत तेल यही टापुबाट विश्वबजारमा जान्छ ।
‘सायद हामी खार्ग टापु लिन्छौं, सायद लिँदैनौँ । हामीसँग धेरै विकल्पहरू छन्,’ ट्रम्पले भने, ‘हामी केही समयको लागि खार्ग टापुमै बस्नु पर्ने पनि हुनसक्छ ।’
खार्ग टापुलाई अमेरिकाले सहजै कब्जामा लिनसक्ने बताउँदै ट्रम्पले भने, ‘मलाई इरानसँग कुनै सुरक्षा भएजस्तो लाग्दैन । हामी यसलाई धेरै सजिलै लिन सक्छौँ ।’
अमेरिकी आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता आयतुल्लाह अली खोमेनेइ र अन्य धेरै वरिष्ठ अधिकारीहरू मारिएको प्रसङ्ग निकाल्दै उनले इरानमा ‘शासन परिवर्तन’ भइसकेको दाबी गरे । उनले वर्तमान सत्ताका मानिसहरू धेरै व्यावसायिक रहेको र उनीहरूसँग अमेरिकाले संवाद पनि गरेको दाबी गरे ।
यसअघि पनि ट्रम्पले इरानसँगको वार्ता अन्तिम चरणमा पुगेको दाबी गरेका थिए । जसलाई इरानले खण्डन गरेको थियो । ट्रम्पले खोमेनेइका छोरा तथा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खोमेनेइ मृतक वा गम्भीर घाइते भएको दाबी पनि दोहोर्याए । इरानले यस दाबी खण्डन गर्दै सर्वोच्च नेता सकुशल रहेको जनाएको छ ।











