देशको बागडोर सम्हालेको २४ घण्टा बित्दा नबित्दै एक्सनमा उत्रिएको बालेन सरकार अहिले विशिष्ट व्यक्तिहरूको हातमा हत्कडी लगाउन व्यस्त छ । लाग्छ– देशमा सुशासनको अभियान होइन, कुनै हाइभोल्टेज टी–ट्वेन्टी म्याच चलिरहेको छ । मैदानमा नेताहरू रनआउट भइरहँदा दर्शकदीर्घामा रहेका जनता भने कुन दलको कति विकेट झ¥यो भनेर गन्न व्यस्त छन् । को कतिबेला ‘बोल्ड आउट’ हुने हुन् वा कुन भीआईपी ‘क्याचआउट’ हुन्छन् भन्ने कौतुहलता आमजनतामा छ । अहिलेको मुख्य प्रश्न यही हो– यो इन्निङमा अर्को विकेट कसको जाला ? सरकारको यो जोस ‘पावर प्ले’ मात्रै हो कि खेलै जिताउने पारी ? एकपछि अर्को भीआईपी पक्राउ पर्न थालेपछि जनताले प्रश्न सोध्न थालेका छन्– अब गिरफ्तारीको पालो कसको ?
काठमाडौं महानगरको मेयर हुँदा ‘डोजर’ चलाएर चर्चामा आएका बालेन शाहले सिंहदरबार छिर्नेबित्तिकै राष्ट्रिय राजनीतिमै ‘डोजर’ चलाइदिएका छन् । शुक्रबार गठन भएको सरकारले तीन दिनमा पाँच जना विशिष्ठ व्यक्तिलाई विभिन्न अभियोगमा पक्राउ गरी अनुसन्धान अगाडि बढाएपछि भीआईपीको घरमा त्रास सिर्जना भएको छ । सरकार गठन भएको केही घण्टामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले भदै २३ र २४ गतेको आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही निर्णयको आधारमा केही घण्टामा नै प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ ग¥यो ।
कार्की नेतृत्वको जाँचबुझ आयोगले जेनजी आन्दोलनका क्रममा लापरवाही तथा हेलचेक्र्याइँ गरेको ठहर गर्दै ओली र लेखक दुवैलाई १० वर्ष कैद सजायको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
शनिबार नै प्रहरीले एमालेका कर्णाली प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पनि पक्राउ ग¥यो । उनीमाथि बलात्कार आरोप लागेको छ । मल्ललाई कारबाहीको माग गर्दै जमुना खत्री काठमाडौंको माइतीघरमा अनशनरत छिन् । यसै क्रममा, आइतबार अनशनस्थलमा खत्री र एमालेका महिला कार्यकर्ताहरूबीच कपाल लुछालुछ समते भएको थियो ।
ओली, लेखक र मल्ल पक्राउ परेको २४ घण्टा नबित्दै सरकारले आइतबार बिहानै कांग्रेस नेता एवं पूर्वऊर्जा, जलस्रो तथा सिँचाइमन्त्री दीपक खड्कालाई पक्राउ ग¥यो । उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । जेन–जी विद्रोहका क्रममा उनको घरमा ठूलो मात्रामा नेपाली र विदेशी मुद्रा भेटिएको थियो । सोही आधारमा उनीमाथि अनुसन्धान सुरु भएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै, प्रहरीले आइतबार राति एमालेकी नेतृ एवं लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई पनि पक्राउ गरेको छ । बालिकालाई घरमा काममा लगाएर दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । यसअघि बालेन शाह काठमाडौं महानगरको प्रमुख हुँदा महानगरपालिकाले उनको घरबाट एक बालिकाको उद्धार गरेको थियो । तत्कालीन ओली सरकारको पालामा शर्माविरुद्धको मुद्दा खारेज गरिएको थियो । तर, बालेन सरकारले गठन भएको तेस्रो दिनमै कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
नयाँ सरकार गठन भएको तीन दिनभित्रै पाँच विशिष्ट व्यक्ति पक्राउ परेपछि अबको पालो कसको भन्ने चासो बढेको छ । यसैबीच, प्रहरीले नेकपा (एमाले) का सचिव महेश बस्नेतमाथि निगरानी बढाएको छ । आइतबार शोभा पाठकले बस्नेतविरुद्ध बलात्कार तथा भ्रुणहत्याको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्, त्यसलगत्तै उनीमाथि प्रहरीको सक्रियता बढेको हो । यद्यपि, बस्नेतले आइतबार राति सामाजिक सञ्जालमार्फत आफूमाथि बालेन नेतृत्वको सरकारले षड्यन्त्र गरेको दाबी गरेका छन् । ओली र लेखकको पक्राउविरुद्ध भइरहेको आन्दोलनलाई कमजोर बनाउन सरकारले नियोजित रूपमा उजुरी हाल्न लगाएर आफूलाई पक्राउ गर्ने प्रयास गरेको उनको आरोप छ ।
यति मात्रै होइन, सरकारको नजर पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवातर्फ पनि सोझिएको छ । देउवा परिवारको सम्पत्ति विवरण संकलन तीव्र पारिएको छ भने प्रमाण नष्ट हुन सक्ने आशंकामा बूढानीलकण्ठस्थित निवासमा भइरहेको संरचना भत्काउने कामसमेत रोकिएको छ ।
त्यस्तै, सरकारले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि अनुसन्धान अगाडि बढाएको छ । उनीमाथि विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीलाई संरक्षण गरेको, माओवादी लडाकुको भरणपोषणका लागि विनियोजित रकम हिनामिना गरेको र शंकास्पद रूपमा सम्पत्ति आर्जन गरेको आरोप छ । यसैगरी, नेकपाकै सह–संयोजक माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा प्रकरण र एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ माथि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेको बताइएको छ ।
यी त सार्वजनिक चर्चामा आएका केही प्रतिनिधि घटना मात्र हुन् । पदभार ग्रहण गरेलगत्तै ‘एक्सन’मा उत्रिएको बालेन नेतृत्वको सरकारले अन्य पुराना फाइलहरू पनि खोल्न सुरु गरिसकेको छ, जसलाई आम नागरिकले एक साहसिक र सराहनीय कदमका रूपमा प्रशंसा गरिरहेका छन् । नेपाली राजनीति र शासन व्यवस्थामा विधिको शासन भनिए तापनि अहिलेसम्म शीर्ष नेतृत्वमाथि अनुसन्धान र कारबाही हुन सकेको थिएन । तर, वर्तमान सरकारले कानुनको समान प्रयोगको एउटा बलियो उदाहरण पेस गरेको छ । अदालती फैसला जे–जस्तो आए तापनि, नयाँ सरकार गठन सँगसँगै विशिष्ट व्यक्तिहरुमाथि अनुसन्धान आरम्भ हुनुलाई सकारात्मक रूपमा हेरिएको छ ।
बालेन नेतृत्वको सरकारले आफ्नो प्रारम्भिक इनिङमै ‘आक्रामक ब्याटिङ’ गरेको छ । विशिष्ट व्यक्तिहरूमाथि अनुसन्धान सुरु हुनु आफैँमा ऐतिहासिक र सकारात्मक कदम हो । यदि यी अनुसन्धानहरू निष्कर्षमा पुगेर दोषीले सजाय पाए भने यसले नेपालको राजनीतिमा ‘युगान्तकारी परिवर्तन’ ल्याउनेछ । अन्यथा, यो केवल एउटा राजनीतिक स्टन्टमा सीमित हुने जोखिम पनि उत्तिकै छ ।











