Logo
Logo

कसको इसारामा जल्यो सिंहदरबार ?


डा. दीपेश केसी

1.6k
Shares

नेपालको इतिहासमा यस्तो विद्रोह पनि भयो, जसको नेतृत्व कसले ग¥यो अहिलेसम्म पत्तोअत्तो छैन । जेनजी विद्रोह नाम दिइएको उक्त विद्रोहको रापतापले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । विद्रोहका क्रममा सर्वसाधारण र सुरक्षाकर्मी गरी ७६ जनाको मृत्यु भयो । मानवीय क्षति, सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवनसमेत जलाइएको घटनाको नैतिक जिम्मेवारी कोही लिन तयार छैनन् ।

गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले दोषीमाथि कारबाही गर्न सिफारिस गरेको आधारमा बालेन्द्र साह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो निर्णयले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् । सरकार बनेको भोलिपल्टै पक्राउको घटनाले अब अन्यले उम्कने ठाउँ छैन ।

झन्डै एक शताब्दीको इतिहास बोकेका दुई ठुला दल कांग्रेस र कम्युनिस्ट । उनीहरूको गठबन्धन सत्ता २४ घण्टामा नै पल्टने विद्रोहमा बाह्य भूमिका खुल्दै गएका छन् । विद्रोहमा मुख्य भूमिका खेलेकाहरूको पृष्ठभूमि, गतिविधि र सम्बन्धले पनि त्यस्ता भूमिकालाई पुष्टि गर्ने आधार मिल्छ । तर, त्यो वातावरणका लागि मैदान बनाइदिने सत्ताको नेतृत्व गरेका ओली र वेटिङ प्रधानमन्त्रीको लालचमा साथ दिने शेरबहादुर देउवा नै हुन् ।

उनीहरू नै जेनजी विद्रोह र त्यसबाट देशको सम्पदा जल्ने घटनाका प्रमुख जिम्मेवार हुन् । कलंकको टीका उनीहरूकै निधारमा लागिसकेको छ । देशको धरातल, भूराजनीतिक संवेदनशीलतालाई बेवास्ता गरेर व्यक्तिगत लाभ हानीमा समय खर्चिदा जनधनको क्षति भयो ।

अर्कोतर्फ, कसैको इशारामा सत्तामा पुग्ने खुड्किलो तयार गर्न देशको सम्पदा नै खरानी पार्ने जेनजी विद्रोहका मुख्य नाइकेहरू छाया देखिने मान्छे नचिनिने जस्ता भएका छन् । तर, नेपालको इतिहासमा यो यस्तो विद्रोह भयो, जसमा नेतृत्वकर्ता र दबाउने सत्ताधारी दुवै देशद्रोही हुन् । कानुनविद् भीमार्जुन आचार्यले भदौ २३ र २४ को घटनालाई संवेदनशील अपराध र देशद्रोही भनेका छन् । उनले घटनाका योजनाकार र संलग्नहरूको चाहना पूरा भएको र जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनताभन्दा अरू (विदेशी)का सेवक जस्ता भएको लेखेका छन् ।

खै कारबाही ?
भदौ २३ को जेनजी विद्रोहमा बल प्रयोग गरी युवाहरूको हत्या भएको घटनामा दोषी देखाइएका ओली र लेखक कारबाहीको दायरामा ल्याइएका छन् । सत्ताको नेतृत्वकर्ता ओली र गृह मन्त्रालय सम्हालेका लेखक त जिम्मेवार हुने नै भए र चिनिए । तर, २४ गतेको घटनामा जसरी सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलाइयो, अयोग व्यवसाय छानाछानी ध्वस्त पारियो त्यसको मुख्य योजनाकारहरू को को थिए ? पहिचानसम्म भएको छैन ।

आक्रोशित भीडका हजारौँ मानिसहरूलाई समातेर आँखामा छारो हालेर केही हुनेवाला छैन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले डिस्कोर्डमा योजना बनाएर जेनजीलाई स्कुलको पोसाकमा आन्दोलनमा बोलाउने, गोली चलाउने र सम्पदा जलाउने सबैलाई सरकारले पक्रेर देखाउन चुनौती दिएका छन् ।

देशको सम्पदा नै ध्वस्त पार्ने मुख्य योजनाकारहरूले उन्मुक्ति पाएमा देशद्रोहीहरूको मनोबल झन् बढ्न जान्छ । सुरक्षा निकायमाथि दोष थोपर्ने, उनीहरूको मनोबल गिराउने र अन्ततोगत्वा मुलुकमा द्वन्द्व चर्काएर स्वार्थसिद्ध गर्न खोज्नेहरू उत्साही हुन पुग्छन् । यसले देशलाई आन्तरिक र बाह्य दुवै रूपमा असुरक्षित बनाउँदै लान सक्छ ।

जतिसुकै आक्रोश भएपनि देशभक्त नागरिकले देशको प्रमुख प्रशासकीय केन्द्र, न्यायको मुख्य केन्द्र र जननिर्वाचितहरुको सर्वोच्च निकायको भवनमा आगो सल्काउने सपनामा पनि चिताउन सक्दैन ।

सिंहदरबार जलाइदिने धम्की वर्तमान प्रधानमन्त्री तथा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबाट ट्विट नै भएको इतिहास साक्षी छ । उक्त ट्विट उनले आवेगमा गरेको भन्दै मेटेका थिए । यो विषय बालेनले रामनवमीमा सपथ लिएकै दिन टाइम्स अफ इन्डियाले प्रकाशित गरेको थियो । हाल रास्वपाका विवादास्पद सांसद अमरेश सिंहले बालेनको नामै लिएर अघिल्लो संसदमा सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलाएर देखाउन चुनौती दिएका थिए ।

आखिर योजनावद्ध तरिकाले जलाइएका ती धरोहरहरू, जलाउने मुख्य योजनकारको तथ्यपरक खोजी न त कार्की नेतृत्वको आयोगले गर्न सक्यो न त तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले त्यस्ता पात्रबारे बोल्न सके । उनीहरू न त घटनाको जिम्मा लिन तयार भए न त दोषी चिनाउन सके ।

जेनजी विद्रोहको कमान्डर को हो ? कांग्रेसले विगतमा गरेको सशस्त्र गतिविधिको जिम्मा वीपी कोइरालाले लिएकै हुन् । प्रचण्डले गरेको दश वर्ष लामो सशस्त्र गतिविधिको जिम्मा मात्र लिएनन् मारिएका सुरक्षाकर्मीको जिम्मा आफूले लिने घोषणा नै गरेका थिए ।

२०४६ सालको जनआन्दोलनको कमान्डर गणेशमान सिंह थिए र २०६२ र २०६३ सालको दोस्रो जनआन्दोलनको कमान्डर गिरिजाप्रसाद कोइराला थिए । उनीहरूले आन्दोलनका क्रममा भएका घटनाको जस अपजसको भारी बोकेका थिए । परिवर्तनपछिको घटनाको व्यवस्थापनमा संयमित भूमिकामा देखिए उनीहरू ।

देशको धरोहर नै जलाउने हिम्मत किन भयो ? भारतमा सन् २००३ मा संसद् भवनमाथि आक्रमणका मुख्य योजनाकार अफजल गुरुलाई पत्ता लगाएर कानून बमोजिम मृत्युदण्ड दिइयो । पेन्टागन र ट्वीन टावरमाथि आक्रमण गर्ने मुख्य योजनाकार अल कायदा नेता ओसामा विन लादेनलाई अमेरिकाले खोजेर सिध्यायो ।

लादेन खोज्न अरबौँ डलर खर्चिएन मात्र पाकिस्तानको अवोटावादमा कमाण्डो अपरेशन गरेको थियो सन् २०११ मा । इजरायलले उसमाथि आक्रमण गर्ने संसारका जो कसैलाई दुलोभित्र लुकेपनि छाड्दैन । नेपालले पनि आफ्नो कुनैपनि सम्पदामाथि आक्रमण गर्नेलाई कारबाही गर्नैपर्छ । ताकि भविष्यमा कसैले सम्पदामाथि आक्रमण चिताउन पनि नसकोस् ।

तारोमा सुरक्षा निकाय
दरबार हत्याकाण्डका क्रममा आफ्ना परमाधिपति जोगाउन नसकेको आरोप खेपेको नेपाली सेनाले यसपटक जेनजी विद्रोहका क्रममा सिंहदरबार जोगाउन नसकेको आरोप खेप्यो । सेनाले बल प्रयोग गर्दैन भन्ने हल्ला मच्चाएर पनि भीडलाई अनियन्त्रित बनाउने योजनाहरू बुनिए । ठूलो रक्तपात मच्चिने खतरा टार्न सेनालाई निकै हम्मे परेको अध्ययनहरूले पनि देखाएको छ । सेनाले दशैंलगत्तै पत्रकार सम्मेलनमार्फत घटनाको संवेदनशीलता र आफ्नो भूमिकाबारे आधिकारिक धारणा सार्वजनिक गरेको थियो । जेनजी विद्रोहपछि स्थिति शान्त पार्न पाँचवटा चरण पार भएका छन् ।

जसमा सरकारका तर्फबाट मुख्यसचिवसहितको विज्ञप्ति, राष्ट्रपतिबाट विज्ञप्ति, नेपाली सेनाबाट संयमित हुन आव्हानसहितको विज्ञप्ति, सेनापतिको सम्बोधन अनि २४ गते रातको १० बजेबाट शक्ति प्रयोग हुनसक्ने चेतावनीसहितको विज्ञप्ति । त्यसपछि मात्र स्थिति शान्त भएको देखिन्छ ।

सेनाले राष्ट्र जोगाउने हो कसैको सत्ता जोगाउने होइन भन्ने सन्देश दिइसकेको छ । आफ्ना परमाधिपति तत्कालीन राजा ज्ञानेन्द्र शाहको गद्दी जोगाउनसमेत सेना नलागेको इतिहास साक्षी छ ।

सत्ता स्वार्थमा सुरक्षा निकायले काम गरिदेओस् भन्ने शासकहरूको चाहना हुने गर्छन् । तर, त्यो हुनुहुँदैन । जेनजी विद्रोह हुँदा प्रहरीहरू ज्यानको बाजी लगाएर राज्य र व्यक्तिको सम्पत्ति जोगाउन लागिपरेका थिए । सेनाले सिंहदरबारस्थित डाटा सेन्टर जोखिम मोलेर जोगायो । नेताहरूको जीवन रक्षाका लागि सबै संयन्त्र प्रयोग गरेको थियो । तथापि, सुरक्षा निकाय जस्तो राज्यको महत्त्वपूर्ण संस्थाहरूलाई बदनाम गर्ने, जनताको दुस्मन जसरी प्रस्तुत गर्ने गतिविधिहरू अदृश्य रूपमा चलिरहेका छन् । नेपाललाई कमजोर बनाएर खतरनाक दुर्घटनामा पार्ने दूरगामी योजना अन्तर्गत सुरक्षा निकायलाई बदनाम बनाउने र तिनका मनोबल गिराउने गरी भइरहेको घटनाक्रमले देखाउँदै लगेको छ । सत्तामा पात्रहरू आउने जाने चलिरहन्छ । सेना, प्रहरी जस्ता सुरक्षा निकायमा कमान्डर बदलिइरहन्छन् । तर, देश बलियो हुन सुरक्षा निकाय बलियो हुनै पर्छ ।

रक्तपातपूर्ण सत्ता पलट कहिलेसम्म ?
नेपालको इतिहासमा सहज र शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण बिरलै होला । रक्तपात मच्चाएर सत्ताको खुड्किलो तयार गर्ने विगतमा पनि थिए वर्तमानमा पनि भए । फरक यति हो उतिबेला रक्तपात मच्चाएर सत्तामा पुग्नेले त्रास मच्चाएर घटना लुकाउथे । यतिबेला भ्रम फैलाएर इतिहासको यथार्थ लुकाउने चेष्टा गर्दै आएका छन् । तर, इतिहास यति निर्मम हुन्छ कि जनताको दिलमा लुकेको कटु सत्य दिमाग हुँदै उपयुक्त समयमा मुखमा आइपुग्छ ।

नत्र भीमसेन थापाले मच्चाएको भण्डारखालपर्व र जङ्गबहादुर राणाले मच्चाएको कोतपर्व इतिहासकारहरूले उत्खनन गर्न सक्दैन थिए । जेनजी विद्रोहको स्क्रिप्ट कहाँ कसले र किन तयार ग¥यो समयले छर्लङ्ग पार्ला नै । तर, नेपालमा रक्तपातपूर्ण सत्ता पलटको घटनाहरू भने अब रोकिनुपर्छ । नेतृत्व विकास र लोकतान्त्रिक ढंगबाट नेतृत्व हस्तान्तरणको राजनीतिक संस्कार स्थापित हुनुपर्छ ।

राज्यको जिम्मेवार निकायमा बसेर घटनाहरूको नैतिक जिम्मेवारी लिने र देशद्रोही कदम चाल्नेलाई कडाभन्दा कडा कारबाहीको थिति बस्नुपर्छ । तबमात्र फेरिफेरी परिवर्तनका नाममा युवाको रगत बग्दैन र सिंहदरबार जलाउने साहस कसैले गर्दैन । ओली र देउवाजस्ता पात्र र प्रवृत्तिका कारण देशले जनधनको क्षति पुग्ने गरी ठूलो मूल्य अब देशले चुकाउनु हुँदैन । फेरि यस्तो कहिल्यै नहोस् ।

प्रतिक्रिया दिनुहोस्