Logo
Logo

ओलीको बिदाइ गर्ने गृहकार्यमा एमाले


11.8k
Shares

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट बिदा गर्नुपर्ने आवाज चुलिएको छ । संस्थापन इतर खेमाका नेताहरू ओलीलाई जसरी भए पनि बिदा गर्ने गृहकार्यमा जुटेका छन् । 

चार महिनाअघि मात्र मङ्सिरमा सम्पन्न महाधिवेशनमा अत्यधिक बहुमतले अध्यक्ष निर्वाचित भएका ओलीविरुद्ध अहिले पार्टीभित्रै युवा नेता तथा ओलीकै प्यानलमाबाट पदाधिकारी बनेका नेताहरू ओलीको विरुद्ध र नेतृत्व हस्तान्तरणका विषयमा खरो रूपमा प्रस्तुत हुन थालेका छन् । 

युवा नेताहरू ओलीको सम्मानपूर्वक बिदाइ चाहिरहेका छन् । एमाले अहिलेको नेतृत्वबाट अघि बढ्न नसक्ने निष्कर्षमा नेताहरू पुगेका छन् । केही युवा नेताहरूले त ओली नेतृत्वलाई हटाउनैको लागि विशेष महाधिवेशनको लागि हस्ताक्षर अभियान नै थालेका छन् । 

एमाले भित्र अहिले ओली छाड्न तयार भए राष्ट्रिय भेला गरेर सहमतिमा अघि बढ्न सकिने विकल्पमा बहस सुरु भई सकेको छ । यदि, ओली पदबाट हट्न नमानेमा जिल्ला कमिटीहरूको दुई तिहाइ वा विशेष महाधिवेशन प्रतिनिधिहरूको बहुमतले विशेष महाधिवेशन माग गर्न सक्ने र केन्द्रीय कमिटीले अस्वीकार गरेमा मागकर्ताहरूले नै आयोजना गर्न सक्ने विधानको व्यवस्था अनुसार अघि बढ्ने तयारीमा नेताहरू जुटेका छन् । 

मङ्सिरमा सम्पन्न महाधिवेशनमा ओलीले १६६४ मत ल्याए अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका थिए । सोही महाधिवेशनमा ओलीका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत मात्र पाएका थिए । तर, अहिले पार्टीको सचिवालय देखी तल्लो तहका कमिटीमा पनि नेतृत्व हस्तान्तरण र पूस्तान्तरणका विषयमा बहस सुरु भइसकेको छ । 

कांग्रेसमा शेरबहादुर देउवालाई विशेष महाधिवेशनबाट हटाइए जस्तै एमालेमा पनि ओलीलाई हटाउन विशेष महाधिवेश विकल्प बन्ने देखिएको छ । एमालेले उपाध्यक्ष रामबहादुर थापालाई कार्यवाहक अध्यक्ष बनाएपछि विवाद छरपस्ट भएको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली अहिले अनुसन्धानको क्रममा थुनामा छन् । एमालेले संसदीय दलको नेतामा पनि थापालाई नै चयन गरेपछि नेतृत्व हस्तान्तरण विषय थप गर्मा-गर्मी बनेको हो । संसदीय दलको नेतामा युवा नेता सुहाङ नेम्वाङको पनि दाबी रहेको थियो ।

तर, एमालेले थापालाई नै संसदीय दलको नेतामा चयन गर्‍यो । एमालेमा थापालाई संसदीय दलको नेता बनाएको विषलाई लिएर नै विरोध भएको थियो । थापाले संसद्मा गरेको सम्बोधनले पार्टीमा थप बहसको वातावरण बनाएको हो । 

अहिले एमाले निर्वाचनको समीक्षा गर्ने चरणमा छ । आन्तरिक तथा बाह्य कारण पहिचान गर्दै सुधारको बाटो खोज्ने तयारी भइरहेको छ । ओलीको थुनाअवधि लम्बिएमा उनी स्वयं पदत्याग गर्न सक्ने सम्भावना रहेको नेताहरूको भनाइ छ । 

महाधिवेशनको चार महिनामै यति ठूलो हलचल उत्पन्न हुनु एमालेको लागि चुनौतीपूर्ण बनेको छ । पार्टी जोगाउन नेतृत्व परिवर्तन आवश्यक छ भन्ने एक पक्ष र विधि, पद्धति मिच्न नहुने अर्को पक्षबीच द्वन्द्व चर्किएको छ । 

प्रतिक्रिया दिनुहोस्