काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई विभिन्न महत्त्वपूर्ण विकास आयोजना तीव्र गतिमा अघि बढाउन सुझाव दिएका छन् ।

सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री शाहले गरेको छलफलमा सहभागी पुनले रोल्पा र लुम्बिनी प्रदेशका चालु तथा नयाँ आयोजनालाई प्राथमिकता दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन जोड दिए । उनले अन्तर्राष्ट्रिय उडान नियमित गर्न हवाई मार्गका लागि भारतसँग कूटनीतिक संवाद तत्काल अघि बढाउन ढिलाइ नगर्न आग्रह गरे । ‘भैरहवामा श्रम डेस्क राखेर पर्यटन क्षेत्रको सम्भावना खोल्न अब ढिला गर्नु हुँदैन,’ पुनले भने । यस्तै, दाङको कोइलाबास-रोल्पा-रुकुम-डोल्पा जोड्ने शहीद मार्गको निर्माणलाई गति दिन, घोराही-होलेरी खण्ड कालोपत्रे र रोल्पाको सुलीचौर-उवा खण्ड स्तरोन्नति गर्न बजेट व्यवस्था गर्न उनले माग गरे । उक्त सडकको चीनसँग जोडिने रणनीतिक महत्त्व रहेको उनको भनाइ थियो ।
रोल्पाको माडी बहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माण अघि बढाउन र आफू अर्थमन्त्री हुँदा बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना पुनः सञ्चालन गर्न पुनले जोड दिए ।
उनले भरतपुर-बुटवल-पोखरालाई केन्द्र बनाएर निजी क्षेत्रसँग साझेदारीमा एकीकृत विकास गर्दा मुलुकको अर्थतन्त्रमा ‘गेम चेन्जर’ बन्न सक्ने बताए । लुम्बिनी प्रदेशमा सिंचाइ, मल, बिउ र आधुनिक कृषि प्रविधिमार्फत एकीकृत कृषि विकास परियोजना अघि बढाउन समेत उनले सुझाव दिए ।










