कञ्चनपुर । लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न सडक आयोजनाका ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । पूर्वाधार विकास कार्यालय र डिभिजन सडक कार्यालय महेन्द्रनगरले लामो समयदेखि अलपत्र रहेका तथा पटक पटक मौखिक र लिखित ताकेता गर्दासमेत बेवास्ता गरी हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएका सडको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेर ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले लामो समयदेखी अलपत्र रहेका सडक योजना सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानुन बमोजिम ठेक्का अन्त्य गर्न लागेको जानकारी दिए ।
‘हामीले पटकपटक ताकेता गर्दा समेत सम्पर्कमा नआएर सडक निर्माण अलपत्र पार्ने २५ सडक योजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने, ‘पाँच/सात वर्षदेखि अलपत्र रहेका सडक योजना काम हुने अवस्था नदेखिएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।’
पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७६-७७ देखि सुरु भएका धेरैजसो सडक आयोजनामा प्रगति न्यून छ । ठेक्का लिएका निर्माण व्यवसायीहरूले काममा ढिलासुस्ती गर्दै आएपछि स्थानीयवासीले समेत चर्को गुनासो गर्दै आएका थिए ।
त्यसैगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर २०७८-७९ मा सम्झौता भएर काम नभएका ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको कार्यालयका सूचना अधिकारी हरिप्रसाद जोशीले जानकारी दिए । कार्यालयका अनुसार पूर्वपश्चिम राजमार्गको अत्तरिया-गड्डाचौकी खण्डका विभिन्न स्थानमा सडक विस्तार गर्ने कैलालीको खुटिया पुल-उर्मा-भडा सडकको स्तरोन्नति गर्ने कार्य अलपत्र छ । ठेक्का सम्झौताअनुसार उक्त सडकको काम अलपत्र छाडी पटकपटक ताकेता गर्दा निर्माण कम्पनीले काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो । ठेक्का तोडिने सूचीमा अधिकांश ग्रामीण भेगका सडक परेका छन् । यी सडक नबन्दा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा निकै सास्ती खेप्नुपरेको छ ।










