Logo
Logo

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौं महानगर


756
Shares

काठमाडौं । काठमडाौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माणको अधुरो काम पूरा गर्ने भएको छ ।

प्रदेश सरकारबाट प्राप्त रकमबाट निर्माण थालिएको तर पैसा नपुगेपछि जगमै काम रोकिएको वडा नं ३२ मा पर्ने गगनेश्वर महादेव मन्दिरलाई कामपाले तीन तलासहित पूरा गर्ने भएको हो ।

कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतका अनुसार करिब दुई सय वर्ष पुरानो उक्त मन्दिर १९९० सालको भूकम्पले पूर्ण क्षति भएको छ । यसको पुनर्निर्माणका सन्दर्भमा पुरातत्व विभागबाट समयमा निर्णय हुन नसकेको विषय उठान भएपछि सम्पदा तथा पर्यटन समितिका संयोजक सङ्गतले लिखित दस्तावेज नपाइए गुठियार, जनश्रुति, कथन, सामाजिक विश्वास तथा मान्यतालाई आधार बनाएर पुरातत्व विभागले निकास दिनुपर्ने बताए ।

उनले भने, ‘हामीलाई निकास चाहिएको हो । पैसा खर्च गरेर हामी काम गर्छौँ तर, पुरातत्व विभागले यो वा त्यो बहानामा काम रोक्ने वा हुन नदिने मनसाय राख्नु हुँदैन । थोरै समय पर्खिएर प्रक्रिया पूरा गर्न हामी तयार छौँ । तर प्रक्रिया पूरा गर्ने नाममा महिनौँ वा वर्षौँसम्म प्रक्रिया अवरुद्ध हुने अवस्था हामीलाई मान्य छैन ।’

वडा ३२ का वडाध्यक्ष नवराज पराजुलीले, विवाद नभएका कुनै पनि योजना कार्यान्वयनमा नलगिने बताए । ‘कुरा मिल्छ, सबैको सहमति हुन्छ भने हामी काम अगाडि बढाउन तयार छौँ । जनताले तिरेको कर उपयुक्त स्थानमा प्रयोग गछौं,’ उनले भने ।

सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार समितिले गगनेश्वरको मन्दिरलाई तीनछाने बनाउने निर्णय गरेको छ । यो विषय पुरातत्व विभागलाई जानकारी गराउने र साझेदार तथा सरोकारवालाबीच विभागमा थप छलफल गर्ने समितिले गरेको निर्णय हो । मन्दिर अहिले सुरुआती चरणमा निर्माण भएको छ । यही संरचनामा निर्माण अगाडि बढाउन सकिने नसकिने विषयमा छलफल गर्दै बैठकले जमिनमाथि देखिने भागको प्राविधिकहरूले अध्ययन गरेर प्रतिवेदन दिने, जमिनमुनि नदेखिने भागका सन्दर्भमा यो काम गराउने कार्यालय र काम गर्ने उपभोक्ता समितिबाट लिखित प्रतिवेदन लिएर अगाडि बढ्ने निर्णय भएको छ ।

कामपाले नै कोटेश्वर महादेव मन्दिर पुनर्निर्माणको मागका सम्बन्धमा छलफल गर्दै सामान्य मर्मतसम्भारको काम निरन्तर गर्ने पुनर्निर्माणको आवश्यकता अध्ययन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्