काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित भेटवार्तामा शाहले विभिन्न मित्र राष्ट्र तथा विकास साझेदार मुलुकका प्रतिनिधिहरूसँग समसामयिक विषयमा संवाद गरेका हुन्।
उक्त भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका राजदूत एवं नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।
भेटका क्रममा राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। उनीहरूले नेपाली जनताको हितमा परिणाममुखी काम गर्न नेपाल सरकारलाई आवश्यक समर्थन र सहयोग रहने प्रतिबद्धता पनि जनाएका थिए।
जवाफमा प्रधानमन्त्री शाहले नेपालको सन्तुलित, स्वतन्त्र र व्यावहारिक परराष्ट्र नीतिप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले छिमेकी, मित्रराष्ट्र तथा विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले शान्ति, स्थिरता र सहकार्यलाई साझा प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै विदेशमा रहेका नेपाली समुदाय तथा श्रमिकहरूको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
उनले सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारप्रति सरकार दृढतापूर्वक प्रतिबद्ध रहेको पनि बताएका छन्।
भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत अन्य सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।










