Logo
Logo

अमेरिकासँगको शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पाकिस्तानमा


1.4k
Shares

काठमाडौं । अमेरिकासँग हुने महत्त्वपूर्ण शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डल पाकिस्तान पुगेको छ । इरानी संसद्का सभामुख मोहम्मद–बाघेर घालिबाफको नेतृत्वमा वार्ता टोली इस्लामाबाद पुगेको बीबीसीले जनाएको छ ।

इस्लामाबादमा आजदेखि शुरू हुने अमेरिका–इरान शान्ति वार्तालाई मध्यपूर्व युद्ध अन्त्यका लागि महत्त्वपूर्ण रूपमा हेरिएको छ । यो वार्तामा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताअघि सम्झौताका लागि आधार तयार भएको बताएको छ भने इरानले पनि आफ्ना शर्तहरू अघि सारेको छ ।

तर दुवै पक्षका प्रस्तावहरूबीच अझै ठूलो मतभेद कायमै रहेको छ । वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससहितको उच्चस्तरीय टोली पनि सहभागी हुँदैछ । इरानको तर्फबाट विदेशमन्त्री अब्बास अराघची लगायत अधिकारीहरू सहभागी हुँदैछन् । तर लेबनानमा जारी इजरायली आक्रमण र बढ्दो मानवीय क्षतिले वार्तालाई थप जटिल बनाएको छ ।

लेबनानले तत्काल युद्धविरामको माग गर्दै कूटनीतिक पहललाई तीव्र बनाएको छ । इरान र अमेरिकाबीच हालै भएको अस्थायी युद्धविरामपछि हुन लागेको यो वार्तामा परमाणु कार्यक्रम, मध्यपूर्वबाट अमेरिकी सेना फिर्ता, र हर्मुज जलमार्ग पूर्णरुपमा खोल्ने जस्ता विषयमा छलफल हुनेछ ।

विश्लेषकहरूका अनुसार तत्कालै ठोस सहमति हुने सम्भावना कम भएपनि वार्तालाई एकदमै सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्