काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा जाने जहाजमाथि अमेरिकी नौसेनाले नाकाबन्दी गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सो मार्ग प्रयोग गर्ने जहाजलाई रोकेर जाँच गरिने बताएका हुन् ।

ट्रम्पका अनुसार विशेषगरी इरानलाई शुल्क तिरेका जहाजहरू कडाइका साथ निगरानीमा राखिने बताएका छन् । उनले इरानलाई गैरकानुनी शुल्क तिर्ने जहाजलाई सुरक्षित मार्ग नदिइने चेतावनी दिँदै यसबाट इरानको आर्थिक शक्ति कमजोर पार्ने उद्देश्य रहेको उल्लेख गरेका छन् ।
यसअघि इरानका उपसभामुख हाजी बाबाएईले होर्मुज जलडमरूमध्य इरानको नियन्त्रणमा रहेको दाबी गरेका थिए । उनले यसलाई तेहरानको ‘रेड लाइन’ भन्दै सो मार्ग प्रयोग गर्ने जहाजले इरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने बताएका थिए ।
यसैबीच, अमेरिका र इरानबीच पाकिस्तानमा करिब २१ घण्टा चलेको वार्ता निष्कर्षविहीन बनेको छ । रिपोर्टअनुसार होर्मुज मार्ग सञ्चालन र आणविक कार्यक्रमको विषयमा दुवै पक्षबीच सहमति हुन सकेन ।
अमेरिकाको नाकाबन्दी घोषणापछि यसको प्रभाव तत्काल देखिएको छ । सो समुद्री मार्ग हुँदै हुने जहाज आवतजावत झन्डै ठप्प भएको छ । समुद्री सूचना कम्पनीहरूले जनाएअनुसार धेरै जहाजले बाटो परिवर्तन गरेका वा फर्किएका छन् ।
इरानले भने अमेरिकी कदमप्रति कडा चेतावनी दिएको छ । इरानी नेता मोहसेन रेजाइले नाकाबन्दी असफल हुने दाबी गर्दै अमेरिकाले पराजय भोग्नुपर्ने बताएका छन् । उनले इरानी सेनाले यस्तो कदम सफल हुन नदिने चेतावनी पनि दिएका छन् ।
रेजाईले इरानसँग जवाफ दिनका लागि अझै प्रयोग नगरिएका विभिन्न विकल्प रहेको दाबी गर्दै सामाजिक सञ्जालका धम्कीबाट इरानलाई दबाउन नसकिने स्पष्ट पारेका छन् ।










