Logo
Logo

माछापुच्छ्रे बैङ्कको नाफा ५० प्रतिशतले बढ्यो


252
Shares

काठमाडौं । माछापुच्छ्रे बैङ्कले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  आव २०८२/८३ को तेस्रो त्रैमास अन्त्यसम्मको यो नाफा गत आर्थिक वर्षको सोही अवधिमा गरेको १ अर्ब १० करोड २६ लाख रुपैयाँ तुलनामा ५५ करोड ६० लाख रुपैयाँ अर्थात् ५०.४२ प्रतिशतले बढी हो ।

सञ्चालन नाफा ७९ करोड ४३ लाख रुपैयाँले बढेर २ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ पुग्दा बैङ्कको खुद नाफा बढेको हो । चालु आर्थिक वर्षमा निष्क्रिय कर्जा घटाउँदै र गैरब्याज आम्दानी बढाउँदै नाफामा ५० प्रतिशतको वृद्धि हासिल गरेको हो । यस अवधिमा बैङ्कको प्राथमिक पुँजी १० प्रतिशत नाघेको छ ।

यस अवधिमा बैङ्कको खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिएको छ । अघिल्लो वर्ष ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी अहिले ४ अर्ब ३९ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।

बैङ्कको ‘फि एन्ड कमिसन’ आम्दानीमा पनि  वृद्धि भएको छ । गत वर्ष ९४ करोड ५८ लाख रहेको खुद फि एन्ड कमिसन आम्दानी २८ प्रतिशतले बढेर १ अर्ब २१ करोड २८ लाख रुपैयाँ पुगेको छ   ।

बैङ्कको नाफा बढ्नुको एउटा मुख्य कारण खराब कर्जा व्यवस्थापनमा देखिएको सफलता र नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको गिरावट हो । गत वर्ष ७१ करोड ५६ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ६७ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ ।

बैङ्कको निष्क्रिय कर्जा ४.५९ प्रतिशतबाट घटेर ४.०१ प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा १.२२ प्रतिशतमा सीमित छ । बैङ्कको प्रोभिजन कभरेज १००.२१ प्रतिशत रहेको छ । 

बैङ्कले ९ महिनाको अवधिमा आफ्नो व्यापारको आकारलाई उल्लेख्य बढाएको छ । असार मसान्तसम्म १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैङ्कले चैत मसान्तसम्म २ खर्ब १३ अर्ब ५६ करोड रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, कर्जा प्रवाह १ खर्ब ४१ अर्ब ४३ करोडबाट बढेर १ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

बैंकिङ प्रणालीमा आएको ब्याजदर गिरावटको प्रभावस्वरूप अघिल्लो वर्ष ९.१४ प्रतिशत रहेको बैङ्कको आधार दर ह्वात्तै घटेर ६.५२ प्रतिशतमा झरेको छ । यस्तै, ब्याजदर अन्तर (स्प्रेड रेट) ३.८७ प्रतिशतबाट घटेर ३.५३ प्रतिशत कायम भएको छ ।

बैङ्कको नाफामा आएको सुधारसँगै प्रतिसेयर आम्दानीमा पनि राम्रो वृद्धि देखिएको छ । अघिल्लो वर्ष १२.१६ रुपैयाँ रहेको ईपीएस अहिले १८.३० रुपैयाँ पुगेको छ । बैङ्कको प्रतिसेयर नेटवर्थ १५४.२७ रुपैयाँ, पीई रेसियो १६.२९ गुणा र स्वपुँजीमा प्रतिफल १०.९० प्रतिशत रहेको छ ।

बैङ्कको पुँजीकोष अनुपात १३.४० प्रतिशत रहँदा प्राथमिक पुँजी अनुपात ८.८० प्रतिशतबाट बढेर १०.१७ प्रतिशत पुगेको छ । यसले बैङ्कलाई आगामी दिनमा थप कर्जा विस्तार गर्न सुरक्षित ठाउँ दिएको छ । बैङ्कको सीडी रेसियो ७७.६७ प्रतिशत छ, जुन नियामकीय सीमा ९० प्रतिशतभन्दा निकै तल रहेकाले बैङ्कसँग लगानीका लागि अझै पर्याप्त तरलता छ ।

बैङ्कले चालु आर्थिक वर्षको ९ महिनामा विभिन्न नियामकीय समायोजनपछि ७६ करोड ७० लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षसम्मको सञ्चित नाफासमेत जोड्दा बैङ्कको कुल रिटेन्ड अर्निङ ७६ करोड २२ लाख रुपैयाँ कायम भएको छ । यस आधारमा बैङ्कको वार्षिकीकरण गरिएको लाभांश क्षमता ७.८१ प्रतिशत देखिन्छ। हाल बैङ्कको चुक्तापुँजी १५ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्