Logo
Logo

साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो


1.3k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकाङ्क्षी नौसैनिक योजना अचानक स्थगित गरेका छन् ।  साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न तथा प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि उक्त योजना रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

The current image has no alternative text. The file name is: TRump-1.gif

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एनबिसी न्युजले जनाएअनुसार ट्रम्प प्रशासनको ‘प्रोजेक्ट फ्रिडम’ नामक सैन्य योजना खाडी क्षेत्रका प्रमुख साझेदार मुलुकहरूलाई पूर्वतयारीबिना सार्वजनिक गरिएको थियो । यसले विशेषगरी साउदी अरेबिया र अन्य खाडी राष्ट्रहरूलाई असहज बनाएको बताइएको छ ।

प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानसँग प्रत्यक्ष टेलिफोन संवाद गरी सहयोगका लागि प्रयास गरेका थिए । तर रियादले अमेरिकी सैन्य विमानलाई आफ्नो भूभाग तथा हवाई मार्ग प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि अपरेसन तत्कालका लागि रोक्नुपरेको हो ।

एनबिसी न्युजसँग कुरा गर्ने एक साउदी स्रोतले योजनाको प्रकृतिप्रति असन्तुष्टि व्यक्त गर्दै ‘यस्तो प्रकारका सैन्य गतिविधिमा वास्तविक समयमै परिस्थिति तीव्र रूपमा बदलिन्छ’ भनेको थियो । स्रोतले साउदी अरेबिया प्रत्यक्ष सैन्य तनावभन्दा पनि कूटनीतिक समाधानको पक्षमा रहेको स्पष्ट पारेको छ ।

उक्त स्रोतका अनुसार रियादले अमेरिका र इरानबीच सम्भावित समझदारी कायम गराउने उद्देश्यले पाकिस्तानले नेतृत्व गरिरहेको कूटनीतिक पहललाई सकारात्मक रूपमा समर्थन गरिरहेको छ । खाडी क्षेत्रमा बढ्दो अस्थिरताका बीच साउदी अरेबियाले प्रत्यक्ष सैन्य संलग्नताबाट दूरी कायम राख्न खोजेको सङ्केत यस घटनाले दिएको विश्लेषकहरूले बताएका छन् ।

यता ह्वाइट हाउसका एक अधिकारीले भने अमेरिकी प्रशासनले ‘क्षेत्रीय सहयोगी राष्ट्रहरूलाई अपरेसनबारे अग्रिम जानकारी गराइएको’ दाबी गरेका छन् । तर समाचारमा उद्धृत एक पश्चिम एसियाली कूटनीतिज्ञले अमेरिका स्वयंले योजना सार्वजनिक गरिसकेपछि मात्रै ओमानलगायत सम्बन्धित पक्षसँग समन्वय थालेको बताए ।

कूटनीतिज्ञका अनुसार ‘पहिले घोषणा गर्ने र त्यसपछि समन्वय खोज्ने शैली’ ले क्षेत्रीय साझेदारहरूलाई असहज बनाएको थियो । यद्यपि उनले यसबाट कुनै औपचारिक विवाद वा आक्रोश सिर्जना नभएको पनि उल्लेख गरेका छन् ।

यसबीच, ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अस्थायी रूपमा रोकिएको घोषणा गरेको भोलिपल्ट इरानले हर्मुज जलघाँटी क्षेत्रमा सञ्चालित व्यावसायिक जहाजलाई आवश्यक सम्पूर्ण सहायता दिन आफू तयार रहेको घोषणा गरेको छ ।

इरानको बन्दरगाह तथा समुद्री सङ्गठनले बिहीबार जारी गरेको विज्ञप्तिमा समुद्री सुरक्षा, प्राविधिक सहयोग, स्वास्थ्य सेवा तथा इन्धन आपूर्ति उपलब्ध गराउन सम्पूर्ण संरचना सक्रिय पारिएको जनाएको छ । इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार यो सूचना समुद्री सञ्चार प्रणालीमार्फत क्षेत्रका सबै जहाजहरूलाई औपचारिक रूपमा पठाइएको छ ।

इरानी समुद्री प्राधिकरणले जहाजहरूको समुद्री योग्यता सुधार गर्ने, चालक दलको सुरक्षा सुनिश्चित गर्ने तथा आपत्कालीन अवस्थामा तत्काल सहयोग उपलब्ध गराउने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ । विज्ञप्तिअनुसार आवश्यक परे जहाज मर्मतसम्बन्धी सामग्रीसमेत उपलब्ध गराइनेछ ।

इरानले विशेषगरी आफ्नो क्षेत्रीय पानी तथा लङ्गर क्षेत्रमा सञ्चालन गरिरहेका जहाजलाई लक्षित गर्दै नजिकका बन्दरगाहस्थित ‘भेसल ट्राफिक सर्भिस’ केन्द्र वा भिएचएफ च्यानल १६ मार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।

इरानी बन्दरगाह तथा समुद्री सङ्गठनले यो पहललाई विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एकमा ‘सुरक्षित र दिगो समुद्री यातायात कायम राख्ने राष्ट्रिय जिम्मेवारी’ का रूपमा व्याख्या गरेको छ । सङ्गठनका अनुसार उक्त सूचना लगातार तीन दिनसम्म दिनमा तीन पटक समुद्री सञ्चार प्रणालीमार्फत प्रसारण गरिनेछ ।

खाडी क्षेत्रमा पछिल्ला महिनाहरूमा अमेरिका–इरान तनाव बढिरहेका बेला हर्मुज जलघाँटी फेरि अन्तर्राष्ट्रिय रणनीतिक केन्द्रविन्दु बनेको छ । विश्वको ठूलो मात्रामा तेल आपूर्ति यही समुद्री मार्गबाट हुने भएकाले यहाँको कुनै पनि सैन्य गतिविधिले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष असर पार्ने गर्छ ।

राष्ट्रपति ट्रम्पले मङ्गलवार ट्रुथ सोसलमार्फत ‘प्रोजेक्ट फ्रिडम’ रोकिएको जानकारी दिँदै पाकिस्तानको आग्रहपछि यो निर्णय गरिएको उल्लेख गरेका थिए । उनले अमेरिका र इरानबीच सम्भावित समझदारीतर्फ प्रगति भइरहेको दाबी गर्दै तत्कालका लागि तनाव कम गर्ने उद्देश्यले विराम दिइएको बताएका थिए । ।

ट्रम्पले इरानविरुद्धको रणनीतिक अभियानमा अमेरिका ‘महत्त्वपूर्ण सैन्य लाभ’ को अवस्थामा पुगेको दाबी पनि गरेका थिए । साथै तेहरान र वासिङ्टनबीच अन्तिम सहमति सम्भव छ कि छैन भन्ने परीक्षणका लागि यो विराम आवश्यक रहेको उनको भनाइ थिए । 

विश्लेषकहरूका अनुसार साउदी अरेबियाको असहमतिले अमेरिकाको क्षेत्रीय सैन्य रणनीतिमा चुनौती थपिएको छ भने पाकिस्तान र ओमानजस्ता मुलुकको कूटनीतिक सक्रियता अहिलेको तनाव व्यवस्थापनमा महत्त्वपूर्ण बन्दै गएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्