नेपाली कम्युनिष्टहरू फुट्दा अचम्म मान्नुपर्दैन । र, जुट्दा विश्वास गरिहाल्ने आधार हुँदैन । तर, यसपटक परिस्थिति फेरिएको छ । जेनजी आन्दोलनपछिको निर्वाचनले वामपन्थी किल्लाहरू भत्काइदिएपछि फेरि वाम एकताको कार्ड फालिएको छ । पराजयको खरानीबाट बौरिन बहस त सुरु भएको छ, तर प्रश्न बाँकी नै छ- के ओली र प्रचण्ड फेरि एउटै मञ्चमा अटाउलान् ? यदि यी दुई नेतालाई नस्वीकार्ने हो भने कसको नेतृत्वमा वाम एकता होला ? के पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याक वाम एकताको निर्विकल्प सूत्र बन्न सक्छ ? सेरेमोनियल भूमिकाबाट विश्राम लिएकी विद्याले यो भताभुङ्ग भएको वाम विरासतलाई जोड्न सक्लिन् ? के अब उनी नै हुन् सर्वस्वीकार्य नेतृत्व ?
‘सबै वाम एक ठाम’ भन्ने नाराका साथ नेपालमा पटक–पटक कम्युनिष्ट एकता भए, तर ती एकताभन्दा विभाजनका श्रृंखला लामा छन् । २०७५ सालको शक्तिशाली नेकपादेखि वर्तमानका साना–मसिना ध्रुवीकरणसम्म आइपुग्दा वाम एकता पानीको फोकाजस्तै सावित भएको छ । अहिले मुलुकमा दर्जनौँ कम्युनिष्ट पार्टी अस्तित्वमा छन् । तर, जेनजी आन्दोलन र त्यसपछिको निर्वाचनले कम्युनिष्ट पार्टीहरू कति कमजोर भएका छन् भन्ने प्रष्ट पारिदिइसकेको छ । गत फागुन २१ को निर्वाचनमा सर्वनाक हारपछि नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीलगायतका दलबीच पुनः एकताको चर्चा चुलिएको छ । नेतृत्व तहका नेताहरूले नै कम्युनिष्ट आन्दोलन रक्षाका लागि पुनर्गठनको विकल्प नभएको बताउन थालेका छन् ।
प्रायः सबै कम्युनिष्ट नेताहरू एकताको आवश्यकतामा सहमत देखिएपनि नेतृत्व कसले गर्ने भन्ने प्रश्नमा अझै अनुत्तरित छन् । २०७५ सालमा ओली र प्रचण्डको गठबन्धनले दिएको तीतो अनुभवले पनि यी दुवै नेताको नेतृत्वमा एकता सम्भव नभएको धेरैले निष्कर्ष निकालिसकेका छन् । यही अन्योल र नेतृत्वको खडेरीबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम एउटा ’नयाँ सम्भावना’ र ‘साझा सूत्र’का रूपमा सतहमा आएको छ । शीतल निवासको संवैधानिक भूमिकाबाट बाहिरिएपछि पुनः सक्रिय राजनीतिमा फर्कने प्रयास गरिरहेकी विद्यालाई वाम आन्दोलनलाई जोड्ने एउटा निर्णायक कडीका रूपमा हेर्न थालिएको छ । कतिपयले त उनलाई वाम एकताको सर्वस्वीकार्य नेतृत्वको रुपमा व्याख्य समेत गर्न थालेका छन् ।
यदि विद्या भण्डारी समग्र कम्युनिस्टहरूको सर्वस्वीकार्य नेता बन्ने हो भने, पहिला एमालेको नेतृत्वमा आउनुपर्ने हुन्छ । उसो त, उनले एमालेको नेतृत्वमा आउने प्रयास नगरेकी पनि होइनन्, तर अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नै नवीकरण नगरिदिएपछि एमालेको ढोका नै बन्द भयो ।
तर, जेनजी जनआन्दोलनपछि परिस्थिति फेरियो । ओली जनताबाट अस्वीकृत मात्र भएनन्, एमालेजनका लागि पनि ’घाँडो’ बने । त्यसैले अहिले ओलीलाई हटाएर विद्यालाई नेतृत्वमा ल्याउने एमालेभित्र प्रयास भइरहेको छ । जननेता मदन भण्डारीको विचारको उत्तराधिकारी मानिने भएकाले एमालेभित्र अहिले पनि उनको बलियो पकड छ ।
अहिले एमालेका दोस्रो तहका नेताहरूले विशेष महाधिवेशनमार्फत ओलीलाई हटाएर विद्यालाई ल्याउने प्रयास गरिरहेका छन् । यसको मुख्य उद्देश्य वाम नेतृत्वमा विद्यालाई स्थापित गर्नु हो । ओली र प्रचण्ड दुवैका लागि ’फेस सेभिङ’ हुने गरी उनलाई नेतृत्व सुम्पिँदा भताभुङ्ग भएको वाम विरासत जोगिन सक्ने तर्क पनि बलियो बन्दै गएको छ । यता, भण्डारी स्वयं पनि मदन भण्डारीको विचार जबजलाई अघि सारेर वाम एकताको नेतृत्व गर्न इच्छुक देखिन्छिन् । जबजले नै नेपालको कम्युनिस्ट आन्दोलनलाई संगठित र लोकतान्त्रिक ढङ्गले अघि बढाएको उनको जिकिर छ ।
तर, वाम एकताका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा एमाले अध्यक्ष ओलीलाई हेरिएको छ । दशकौँदेखि पार्टी कब्जा गरिरहेका ओलीले सहजै नेतृत्व हस्तान्तरण गर्लान् भन्नेमा अझै संशय छ, तर, बदलिएको जनमत, नयाँ शक्तिहरूको उदय र कम्युनिष्ट दलप्रतिको घट्दो भरोसाले पुराना वाम शक्तिहरूलाई अब रूपान्तरण वा विलयमध्ये एक कठोर विकल्प रोज्न बाध्य बनाइरहेको छ ।
नेपालमा कम्युनिष्ट एकताको इतिहास जति उत्साहजनक देखिन्छ, त्यति नै अस्थिर पनि छ । २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच बनेको नेकपालाई ऐतिहासिक उपलब्धि मानिए पनि अन्ततः त्यो अदालतको फैसला, नेताहरूको अहंकार र शक्ति संघर्षको भुमरीमा परेर विघटन भयो । यसपटक पनि नेतृत्वको प्रश्न, वैचारिकभन्दा बढी सत्ता–केन्द्रित राजनीति र नयाँ पुस्ताको बढ्दो अविश्वास जस्ता चुनौतीहरू उस्तै छन् । युवापुस्ताले पुराना दललाई परिवर्तनको संवाहक भन्दा पनि नेतृत्वको असफलतालाई बढी दोष दिन थालेको छ ।
विशेषगरी एमालेभित्र ओलीपछिको उत्तराधिकारी बहस र नयाँ ध्रुवीकरणमा विद्याको नाम रणनीतिक रूपमा प्रयोग भइरहेको छ । तर, वाम एकता केवल अनुहार बदल्दैमा सम्भव छैन । जनताले अहिले चुनावी गठबन्धन मात्र नभएर राजनीतिक विश्वसनीयता खोजिरहेका छन् । भ्रष्टाचार, सत्ता भागबन्डा र अवसरवादबाट थाकेको समाजलाई फेरि उही पुराना नेताहरूको नयाँ तस्वीर देखाएर विश्वास दिलाउन कठिन छ । यदि कम्युनिष्ट शक्तिहरू साँच्चै पुनर्गठन चाहन्छन् भने उनीहरूले आत्मसमीक्षा, नेतृत्व हस्तान्तरण र लोकतान्त्रिक संस्कृतिको पुनर्निर्माण गर्नैपर्छ । त्यसैले, विद्यादेवी भण्डारीको ‘कमब्याक’ केवल एउटा चर्चा मात्र रहन्छ वा छिन्नभिन्न भएको वामपन्थी आन्दोलनलाई जोड्ने अन्तिम अस्त्र बन्छ, त्यो भने हेर्न बाँकी नै छ ।












