
काठमाडौं । भारतको तमिलनाडु का नवनियुक्त मुख्यमन्त्री थलापति विजयले तीनवटा आदेशमा हस्ताक्षर गरेका छन् ।
आज तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिएलगत्तै उनले मञ्चमै तीनवटा आदेशमा हस्ताक्षर गरेका हुन् । जसमा हरेक घरलाई २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, लागुऔषध समस्या नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने र महिला सुरक्षाका लागि विशेष टास्क फोर्स स्थापना गर्ने निर्णय समावेश छन् ।
तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । २३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकहरूको समर्थन प्राप्त गरेपछि शनिबार विजयलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो ।
विजयले बिहान १० बजे चेन्नईको नेहरू स्टेडियममा शपथ लिएका हुन् । उनीसँगै टीभीकेका केही वरिष्ठ नेतासहित अन्य नौजनाले मन्त्री पदको शपथ लिएका छन् । विजयले भारतीय नेशनल कांग्रेसको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् ।
शपथग्रहण समारोहमा सहभागी हुन कांग्रेस नेता राहुल गान्धी पनि पुगेका थिए । कांग्रेसले आफ्ना पाँच विधायकसहित टीभीकेलाई समर्थन दिएको थियो ।












