काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको नयाँ शान्ति प्रस्ताव अस्वीकार गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै इरानी प्रतिनिधिहरूको जवाफ आफूलाई बिलकुल मन नपरेको बताएका हुन् । उनले उक्त प्रस्ताव स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् । यसअघि पनि ट्रम्पले इरानमाथि वार्तामा खेल खेलिरहेको आरोप लगाएका थिए ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानले आइतबार पाकिस्तानमार्फत अमेरिकालाई नयाँ प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा युद्ध अन्त्य गर्ने, फारसको खाडी र होर्मुज जलडमरु क्षेत्रमा समुद्री सुरक्षा सुनिश्चित गर्ने, आर्थिक प्रतिबन्ध हटाउने तथा आणविक कार्यक्रममा वार्ता गर्ने विषय समेटिएको थियो ।
यसै सातामात्र अमेरिकाले इरानलाई १४ बुँदे प्रस्ताव पठाएको थियो । प्रस्तावअनुसार इरानले कम्तीमा १२ वर्षसम्म युरेनियम संवर्धन रोक्नुपर्ने र आफूसँग रहेको करिब ४४० किलो ६० प्रतिशत संवर्धित युरेनियम अमेरिकालाई बुझाउनुपर्ने सर्त राखिएको थियो ।
यसको बदलामा अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध खुकुलो बनाउने, रोक्का गरिएका अर्बौँ डलर बराबरका सम्पत्ति फुकुवा गर्ने तथा इरानी बन्दरगाहमाथि लगाइएको नौसैनिक नाकाबन्दी हटाउने प्रस्ताव गरेको थियो ।
तर विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनअनुसार इरान आफ्नो आणविक कार्यक्रम र उच्चस्तरमा संवर्धित युरेनियम पूर्ण रूपमा त्याग्न तयार देखिएको छैन । इरानी अधिकारीहरूले आफ्नो जवाफ सकारात्मक र व्यवहारिक रहेको दाबी गर्दै अब निर्णय अमेरिकाले गर्नुपर्ने बताएका छन् । दुवै देशले अप्रिल ८ देखि लागू युद्धविराम अन्त्य भएको घोषणा भने गरेका छैनन् ।












