
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको राजीनामासम्बन्धी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै सीईओ पाण्डेको राजीनामाबारे सार्वजनिक भएका समाचारहरू भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा बैंकले प्रमुख कार्यकारी अधिकृत पाण्डे आफ्नो जिम्मेवारीमा सक्रिय रहेको तथा बैंकको कार्यसम्पादन र व्यवस्थापनमा नियमित रूपमा संलग्न रहेको जनाएको छ ।
बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्रै सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई आग्रह गरिएको छ ।
साथै बैंकले ग्राहक, शेयरधनी तथा सर्वसाधारणप्रतिको विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।












