Logo
Logo

लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ जनाले पाए उपचार तथा परामर्श


0
Shares

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा लिएका छन् ।

नबिल बैंक लिमिटेड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा वैशाख २५ देखि २८ गतेसम्म उक्त शिविर सञ्चालन गरिएको हो । शिविरका क्रममा २५ जनाको शल्यक्रिया गरिएको बैंकले जनाएको छ । त्यसमध्ये जटिल अवस्थाका १२ जना बिरामीलाई थप उपचारका लागि काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ ।

नबिल बैंकले काठमाडौँमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत विभिन्न प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलन पीडितलाई लक्षित गर्दै निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ । जलनका घटनामा तत्काल तथा विशेष उपचार आवश्यक पर्ने भए पनि देशका धेरै स्थानमा उपचार केन्द्रको अभावका कारण पीडितहरूले समयमै गुणस्तरीय सेवा नपाउने अवस्था रहेको बैंकले जनाएको छ । सोही अवस्थालाई सम्बोधन गर्दै पीडितको जीवनस्तर सुधार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले नेपालमा जलन पीडितहरूले अझै पनि उचित उपचार नपाइरहेको उल्लेख गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा शिविर सञ्चालन गरिएको बताए । उनका अनुसार, “चार वटा प्रदेशमा सञ्चालन गरिएको शिविरमार्फत स्रोतको अभावका कारण उपचारको पर्खाइमा रहेका करिब पाँच सय बिरामीले निःशुल्क उपचार तथा परामर्श सेवा लिएका छन् ।”

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनसम्बन्धी विशिष्ट सेवा उपलब्ध नभएको अवस्थामा शिविरले ठूलो राहत प्रदान गरेको प्रतिष्ठानका निमित्त निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले बताए । उनले भने, “यस प्रकारको सेवा नहुँदा पनि २५ वटा शल्यक्रिया हुनु अत्यन्तै महत्वपूर्ण र कल्याणकारी कार्य हो । यसका लागि नबिल बैंक र संलग्न स्वास्थ्यकर्मीहरू धन्यवादका पात्र छन् । आगामी दिनमा पनि यस्ता सहकार्य आवश्यक छन् ।”

यसअघि नबिल बैंकले मधेश प्रदेशमा वैशाख १७ देखि चार दिने शिविर सञ्चालन गरी १५० जनालाई सेवा प्रदान गरेको थियो । त्यस्तै, फागुन १२ देखि १४ सम्म सुदूरपश्चिमको धनगढीमा आयोजित शिविरबाट ६५ जना र चैत २७ देखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको शिविरबाट १९४ जनाले उपचार तथा परामर्श सेवा लिएका थिए ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । नबिल एसएसईमार्फत सामाजिक उद्यमशीलता, विकास तथा रोजगारी सृजनामा योगदान पुर्‍याउँदै दिगो विकासप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्