काठमाडौं । पर्सियन खाडीमा रहेको इरानको खार्ग टापु नजिकै ठूलो मात्रामा तेल चुहावट पत्ता लागेको छ । स्याटेलाइट तस्बिरहरूले समुद्रमा तेल चुहावट भएको देखाएको छ । न्यूयोर्क टाइम्सका अनुसार यो चुहावट अमेरिकी प्रतिबन्ध र होर्मुज क्षेत्रमा बढेको तनावको कारणले भएको हुन सक्छ ।

अर्बिटल ईओएसका अनुसार तेल चुहावट ५१ वर्ग माइलभन्दा बढी क्षेत्रमा फैलिएको छ । ३ हजार ब्यारेलभन्दा बढी तेल पानीमा चुहावट भएको अनुमान गरिएको छ ।
अमेरिकी प्रतिबन्ध र नौसेना दबाबले इरानको तेल निर्यातमा असर पारेको बताइएको छ । धेरै तेल ट्याङ्करहरू फसेका छन्, र देशमा भण्डारण ठाउँ सकिन लागेको छ । यसले गर्दा समुद्रमा अतिरिक्त तेल छोडिने डर बढेको छ ।
ह्याम्बर्ग युनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर निमा शोक्रीले तेलको इनार अचानक बन्द गर्नु सजिलो नभएको बताए, किनकि यसले पाइपलाइनहरू बन्द गर्न सक्छ वा तेलको भण्डारलाई क्षति पुर्याउन सक्छ । ‘तेलको इनारहरू मेसिन होइनन् जुन इच्छा अनुसार खोल्न र बन्द गर्न सकिन्छ,’उनले भने ।
केही विज्ञहरूले खार्ग टापु नजिकैको पुरानो पाइपलाइनमा चुहावट हुनु यसको कारण हुन सक्ने सुझाव दिन्छन् । तेल बिस्तारै साउदी अरबको पानीतिर सर्दैछ, जसले गर्दा वातावरणीय क्षतिको जोखिम बढ्दै छ ।














