काठमाडौं । फ्रान्सको लियोन सहरको दक्षिणी क्षेत्रमा रहेको एक प्रमुख तेल रिफाइनरी बाहिर किसानले इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।

कृषि कार्यमा प्रयोग हुने डिजेलको मूल्यमा भएको उच्च वृद्धिको विरोधमा किसान आन्दोलित भएका हुन् । स्थानीय प्रशासनले रणनीतिक महत्वको औद्योगिक क्षेत्र वरपर प्रदर्शन गर्न निषेधाज्ञा जारी गरे पनि कोअर्डिनेशन रुराले नामक किसान सङ्गठनको आह्वानमा उक्त प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागी किसान पियरे ग्रेनोइलरले इन्धनको मूल्यवृद्धि अनुचित रहेको र यसले आम उपभोक्तालाई मारमा पारेको बताए ।
प्रशासनले सार्वजनिक व्यवस्था र सुरक्षाको कारण देखाउँदै प्रदर्शनमा रोक लगाए पनि किसानले अवरोध सिर्जना गरेपछि फेइजिन रिफाइनरी वरपर ठूलो सङ्ख्यामा प्रहरी र दङ्गा नियन्त्रण बल परिचालन गरिएको छ । फ्रान्समा पछिल्लो समय कृषि सञ्चालन लागतमा भइरहेको वृद्धिलाई लिएर किसानले पटक-पटक विरोध प्रदर्शन गर्दै आएका छन् ।














