Logo
Logo

ह्वाइट हाउस नजिकै चल्यो गोली


189
Shares

 काठमाडौं । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ । गोली चलाउने एक सन्दिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका छन् ।

The current image has no alternative text. The file name is: usa.jpg

स्थानीय समय अनुसार शनिवार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकैको १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ ।

अमेरिकी सिक्रेट सर्विसले जारी गरेको विज्ञप्ति अनुसार, ती व्यक्तिले अचानक आफ्नो झोलाबाट हतियार निकालेर जथाभाबी गोली चलाउन सुरु गरेका थिए । ड्युटीमा रहेका सिक्रेट सर्विसका प्रहरी एजेन्टहरूले तुरुन्तै जवाफी कारबाही गर्दै सन्दिग्धमाथि गोली चलाएका थिए । गोली लागेर गम्भीर घाइते भएका ती बन्दुकधारीलाई तत्कालै अस्पताल लगिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

एक महिना अघि मात्र ह्वाइट हाउसमै पत्रकारहरूका लागि आयोजना गरिएको डिनरमा पनि एक बन्दुकधारीले गोली चलाएको घटना सार्वजनिक भएको थियो, जसका कारण यस क्षेत्रको सुरक्षा संवेदनशीलता झन् बढेको छ ।

गोलीबारीको आवाज सुन्नासाथ ह्वाइट हाउस परिसरमा रहेका दर्जनौं पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा ‘प्रेस ब्रिफिङ रुम’ भित्र लगेका थिए । त्यसपछि ह्वाइट हाउसलाई पूर्णरूपमा लकडाउन गरिएको थियो । घटनाको करिब एक घण्टापछि (स्थानीय समय ७ बजे) मात्र लकडाउन खोलिएको थियो ।

सिक्रेट सर्विसका अनुसार घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै थिए । तर, यो घटनाबाट राष्ट्रपति वा अन्य कुनै विशिष्ट व्यक्तिको सुरक्षामा कुनै आँच नआएको र ह्वाइट हाउसको कार्यसञ्चालनमा कुनै असर नपरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्