Logo
Logo

दम्भको खरानीमा शक्तिको खोजी


693
Shares

राजनीतिमा स्थायी मित्र होइन, बरु स्थायी स्वार्थ हुन्छ भन्ने कुरा नेपाली राजनीतिमा स्थापित मान्यता हो । परन्तु अहिलेको सन्दर्भमा यो भनाइ सबैभन्दा धेरै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ठ्याक्कै मेल खान जान्छ । हुन त यो ओलीबाहेकका नेताहरूमा पनि लागू हुन्छ । यद्यपि, कुनै बेला देशको सबैभन्दा बलियो, हिम्मतिलो र आत्मविश्वासी नेता भनेर आफैँलाई उभ्याउने ओली अहिले यही दयालाग्दो राजनीतिक मोडमा आइपुगेका छन्, जहाँ उनको बोलीभन्दा बढी डर बोल्न थालेको छ ।

हिजो संसद् विघटन गर्दा उनको अनुहारमा जुन दम्भ थियो र अदालतलाई चुनौती दिँदा जुन शैली थियो, आज आएर त्यो सबै उनकै अहङ्कारको भुङ्ग्रोमा डढेर खरानी भएको छ । पार्टी फुटाउँदा ‘म नै नेकपा हुँ’ भन्ने ओलीको जुन आत्ममुग्धता थियो, अहिले त्यो सबै खुइलिँदै गएको छ । समयले राजनीतिका ठूलाठूला सिंहहरूलाई पनि कहिलेकाहीँ यति धेरै थकाउँछ कि उनीहरू गर्जन छाडेर बाँच्ने जुक्ति खोज्न बाध्य हुन्छन् । अहिले एमाले अध्यक्ष ओली त्यही बिरहको बगरमा उभिएर जुक्ति जुटाउने प्रयत्न गरिरहेका छन् ।

खासमा ओलीको राजनीति बुझ्न उनको विगत सम्झिनुपर्छ । उनी जहिल्यै पनि आफूभन्दा माथिको कुनै पनि छाया सहन नसक्ने नेता हुन् । एमालेभित्र मदन भण्डारीको विरासतको भावनात्मक शक्ति धेरै समयसम्म बाँकी थियो । तर त्यसलाई पनि बिस्तारै ओलीले आफ्नो राजनीतिक शैलीभित्र समेटेर ध्वस्त बनाए । पार्टीभित्र जोकोहीलाई आफ्नो वैकल्पिक देख्यो कि उनले या त त्यसलाई कमजोर बनाए, या किनारामा धकेले । यही शैली उनले वर्षौैैँदेखि अपनाउँदै आएका थिए ।

पार्टीभित्र धेरै नेताहरू थिए, तर निर्णय गर्ने अन्तिम व्यक्ति उनी मात्रै बने । यही कारण एमालेमा संस्थागत नेतृत्वभन्दा व्यक्ति केन्द्रित संस्कार बलियो हुँदै गयो । ओलीलाई कार्यकर्ता चाहिन्थ्यो, तर स्वतन्त्र हैसियत भएका सहकर्मीचाहिँ त्यति मन पर्दैनथे । हिजो विद्या भण्डारीलाई राष्ट्रपति बनाउँदा पनि त्यसमा केवल सम्मानको राजनीति थिएन, त्यो एउटा रणनीति थियो ।

राष्ट्रपति भवनभित्र पुगेपछि उनी सक्रिय पार्टी राजनीतिबाट टाढा रहनेछिन् भन्ने ओलीलाई थाहा थियो । एमालेभित्र भावनात्मक रूपमा लोकप्रिय हुनसक्ने एउटा अनुहारलाई सुरक्षित दूरीमा राख्ने त्यो निकै चलाख निर्णय थियो । तर त्यो निर्णय पनि गत महाधिवेशनका बेला ओलीको गलपासो बन्यो । महाधिवेशनबाट ओली नै अध्यक्षमा निर्वाचित भए पनि अहिले परिस्थिति उल्टिएको छ ।

ओलीलाई आफ्नै घरभित्र असुरक्षा बढेको महसुस राम्रोसँग भएको छ । किनकि, उनकै समूहका खम्बा ठानिने शंकर पोख्रेलले पार्टीभित्र आफ्नो सक्रियता बढाएका छन् । आफ्नो दशकौं लामो राजनीतिक यात्रामा प्रायःजसो ओलीकै भक्तिगान गाएर हिँड्ने पोख्रेल आज आफूलाई वैचारिक उत्तराधिकारीको रूपमा प्रस्तुत गर्ने मनसायले अघि आएपछि ओली तर्सिएका हुन् ।

संकटमा झन् धेरै सक्रिय हुने ओलीको राजनीतिमा एउटा छुट्टै विशेषता छ । बाहिरबाट झट्ट हेर्दा ठट्टा गर्ने, उखान टुक्का सुनाउने अनि हाँसिरहने देखिन्छन्, तर भित्रभित्रै उनी शक्ति सन्तुलनको हिसाब– किताब गरिरहेका हुन्छन् । अहिले विद्या भण्डारीको कार्ड फ्याँक्नुको अर्थ केवल भावनात्मक राजनीति होइन, यो एमालेभित्रको आन्तरिक शक्ति समीकरणमा मनोवैज्ञानिक हमला पनि हो ।

यसले एकातिर पार्टीभित्र वैचारिक उत्तराधिकारीको बाटो यति सजिलो छैन भनेर शंकर पोख्रेललाई सन्देश दिन खोजेको देखिन्छ भने अर्कोतिर संगठन र स्रोतको पहुँचले मात्रै नेतृत्व सुनिश्चित हुँदैन भन्दै विष्णु पौडेललाई चेतावनी दिन खोजेको सहजै बुझ्न सकिन्छ ।

वास्तवमा, अहिले एमालेभित्र सबैभन्दा ठूलो समस्या विचारको होइन, उत्तराधिकारीको हो । ओलीले पार्टीलाई यति धेरै आफ्नै वरिपरि केन्द्रित बनाए कि अब उनीपछिको संरचना कस्तो हुने भन्ने स्पष्टता कसैसँग छैन । यही कारण अहिले पार्टीभित्र मुस्कानभन्दा बढी असुरक्षा छ । बाहिर सबै नेताहरू ओलीप्रति सम्मान देखाउँछन्, तर भित्रभित्रै सबै आफ्नो लाइन बलियो बनाउन व्यस्त छन् । यस्तो बेला ओलीले एउटा नयाँ शक्ति केन्द्र झिकेर सबैलाई फेरि अलमल्याइदिएका छन् ।

राजनीतिमा उनी कहिल्यै खाली हात खेल्दैनन् । कहिले नक्कली राष्ट्रवाद, कहिले चुच्चे नक्सा, कहिले चुच्चे रेल, घरघरमा ग्यासको पाइप त कहिले स्थायित्वको नारा, अहिले फेरि विद्याको कार्ड । परिस्थितिअनुसार नयाँ कथा निर्माण गर्न उनी निकै माहिर छन् ।

ओलीको राजनीति हेर्दा कहिलेकाहीँ गाउँको पुरानो मुखियाको कथा सम्झना आउँछ । जसले गाउँभरि आफ्नो हैकम चलाउँथ्यो, सबैलाई थर्काउँथ्यो, आफूबिना गाउँ चल्दैन भन्ने भ्रम पाल्थ्यो । तर बुढेसकाल लागेपछि आफ्नै घरका मान्छेहरूले कुन दिन घोक्र्याउने हो भन्ने भयले उसलाई खुबै सताउँथ्यो । अहिले एमालेभित्र ओलीको अवस्था पनि ठ्याक्कै त्यस्तै देखिन्छ ।

उनी अझै शक्तिशाली भएको भ्रममा बाँचिरहेका छन्, अझै पार्टीमाथि पकड छ भन्ने आडम्बर छ । तर त्यो सबैभित्र एउटा अदृश्य डरले ओलीलाई नराम्रोसँग पोलिरहेको छ, त्यो भनेको सत्ता गुमाउनुमात्र होइन, आफू अपरिहार्य नरहेको यथार्थ स्वीकार गर्नु हो ।

ओली अहिले त्यही कठिन मोडमा छन् । त्यसैले उनी फेरि नयाँ–नयाँ जुक्ति खेलिरहेका छन् । यसले केही समयका लागि एमालेभित्रको उत्तराधिकारी बहस रोक्ला, शंकर पोख्रेल र विष्णु पौडेलको गति सुस्त बनाउँला, कार्यकर्तालाई नयाँ बहसमा अल्झाउँला, वाम एकताको हल्लाले केही राजनीतिक तरंग पनि पैदा गर्ला, तर दीर्घकालीन रूपमा यसले एमालेभित्रको असुरक्षा झन् बढाउने सम्भावना धेरै छ । किनभने, जब पार्टी विचारभन्दा व्यक्तिको डर र जुक्तिमा चल्न थाल्छ, तब संगठन बाहिरभन्दा भित्रैबाट कमजोर हुन थाल्छ ।

नेपाली राजनीतिमा एउटा रोचक प्रवृत्ति छ नेताहरू जब लोकप्रियताको उचाइमा हुन्छन्, उनीहरूलाई लाग्छ समय सधैँ आफ्नै पक्षमा रहन्छ । तर राजनीति मौसमभन्दा छिटो बदलिन्छ । हिजो जनताले काँधमा बोकेका नेता आज सामाजिक सञ्जालको व्यंग्य बन्न धेरै समय लाग्दैन । ओलीले पनि त्यो परिवर्तन महसुस गर्न थालेका छन् । कुनै बेला ‘राष्ट्रवाद’को नाममा उनले जुन भावनात्मक उभार सिर्जना गरेका थिए, अहिले त्यसमा पहिलेजस्तो चमक छैन । जनता परिणाम खोजिरहेका छन् ।

युवाहरू रोजगारी खोजिरहेका छन् । विदेश पलायन रोकिएको छैन । भ्रष्टाचारका प्रश्न घटेका छैनन् । सरकार फेरिए पनि जनताको दैनिकी फेरिएको छैन । यस्तो अवस्थामा पुराना भाषण र पुराना नारामात्रै काफी हुँदैनन् । त्यसैले अहिले ओली पनि भाषणभन्दा बढी रणनीतिमा केन्द्रित देखिन्छन् । उनलाई थाहा छ कि अब केवल गर्जेरमात्रै राजनीति जोगिँदैन ।

भदौ २३ र २४ गते आफैँले निम्त्याएका दशा हुन्, त्यसप्रति अझै पनि उनले पश्चात्ताप गरेका छैनन् । जुन घटनाले आज ओलीलाई घर न घाटका खेलाडी बनाएको छ ।
लमहि दाङः हाल साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्