काठमाडौँ । गैरआवासिय नेपाली सङ्घका पुर्व कोषाध्यक्ष हिक्मत थापाले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास बन्द गर्ने सरकारको निर्णय दु:खद भएको बताएका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार बजेट भाषणमा संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास बन्द गर्ने घोषणा गरेका थिए ।
थापाले एक प्रेस नोट जारी गर्दै सरकारको सो निर्णय फिर्ता लिन माग गरेका छन् । उनले ती देशमा रहेका दूतावासलाई दक्षिण व्यापार , लगानी , व्यापार र आर्थिक अवसर सिर्जनाका आधार बनाउन सकिए नेपालको समृद्धिलाई टेवा पुग्ने बताएका छन् । उनले दूतावास व्यय केन्द्र मात्र नभएको र आयको अवसरको रूपमा लीन सरकारलाई सुझाव दिएका छन् । साथै उनले अबको समयमा दूतावासले आर्थिक कूटनीतिमा बढी केन्द्रित हुनु पर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘आर्थिक समृद्धि द्रुत गतिमा बढेका र भविष्यका आर्थिक केन्द्र बनिरहेका दक्षिण अफ्रिका र ब्राजिल जो आफै विशाल अफ्रिका र दक्षिण अमेरिका महादेशका आर्थिक केन्द्र समेत हुन । अफ्रिका र दक्षिण अमेरिका जहाँ नेपाली डायस्पोरा पनि बढ्दो क्रममा छ र स्थापित हुँदै छ । जसका समस्या अझै पनि नेपाल राज्यको पहुँच बाहिरै छन् । जहाँ गैरआवासीय नेपालीहरूले राज्यको उपस्थिति अझ धेरै आवश्यक रहेको महसुस गरेका छन् र थप उपस्थितिको माग राख्दै आएका छन् । त्यहाँ भएका दूतावास पनि बन्द हुनु झन् दु:खद हो ।’
उनले नेपाल सरकारलाई ब्रिक्ससँगको सहकार्यमा जोड दिँदै भनेका छन्, सरकारले ब्राजिल र दक्षिण अफ्रिका स्थित नेपाल दूतावासलाई नेपालको दक्षिण९ दक्षिण संबध , नयाँ विश्व शक्तिको रूपमा स्थापित हुँदै गरेको ब्रिक्स सँगको सहकार्य , दोहोरो व्यापार , प्रविधि र लगानीका लागि बृहद सम्भावना तिर केन्द्रित भई अगाडि बढ्ने अपेक्षा नेपाल सरकारसँग राख्दै निर्णय पुन: बिचार गर्न अनुरोध गर्दछु ।














