Logo
Logo

फुटको संघारमा राप्रपा


378
Shares

The current image has no alternative text. The file name is: raprapa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि र विवादका बीच पार्टीका तीन पूर्वअध्यक्षहरूले पार्टीको भविष्य उज्ज्वल रहेको बताउँदै कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणा, प्रकाश चन्द्र लोहनी र कमल थापाले शनिवार संयुक्त वक्तव्य जारी गर्दै पार्टी सङ्गठनलाई थप सुदृढ बनाएर अघि बढ्न कार्यकर्तालाई आह्वान गरेका हुन् ।

वक्तव्यमा उनीहरूले हालको परिस्थितिले विचलित नभई सङ्गठन निर्माणमा सक्रिय रहन र कुनै पनि ‘आत्मघाती कदम’ नचाल्न विशेष आग्रह गरेका छन् । आगामी महाधिवेशनबाट पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको समाधान हुने विश्वाससमेत व्यक्त गरेका छन् । पूर्वअध्यक्षहरूले हालैको निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि उचित रणनीति, एकता र सामूहिक प्रयासबाट छोटो समयमै पार्टीले उल्लेखनीय सफलता हासिल गर्न सक्ने दाबी गरेका छन् । 

उनीहरूले हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापनासहित पार्टीको मूल एजेन्डालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता पनि दोहोर्‍याएका छन् ।आगामी जेठको अन्तिम साता बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गर्ने तयारी भइरहेको छ ।

नयाँ पार्टी गठनको तयारी 

महामन्त्री धवलशमशेर राणाले पार्टीबाट राजीनामा दिएर नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट रहेका राणाले सोमबार राजधानीको एल्लो प्यागोडामा निकटस्थ भेला बोलाएका छन् । भेलापछि सामूहिक राजीनामा घोषणा हुने र करिब १०० जना नेताहरू नयाँ पार्टीमा जाने तयारी छ ।

नयाँ दल राष्ट्रवादी शक्ति निर्माण गर्ने लक्ष्यसहित स्वतन्त्र पार्टीहरूलाई टक्कर दिने खालको हुने जनाइएको छ । नयाँ पार्टीमा व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च कमान्डर र राणालाई अध्यक्ष बनाउने तयारी भइरहेको छ । प्रसाईँसँग समझदारी नबने राणाकै नेतृत्वमा राजावादी पार्टी खोलिने योजना छ । नयाँ पार्टीका लागि पूर्वमन्त्री दिलनाथ गिरी, दिलविकास राज भण्डारी, सगुन लावतीलगायत नेता यसमा सक्रिय छन् । 

प्रतिक्रिया दिनुहोस्