Logo
Logo

बजेटको कमाल- बालेनको सम्पत्ति ३९ लाखले वृद्धि, अरू मन्त्रीको कति बढ्यो ?


1.3k
Shares

काठमाडौं । सरकारले बजेटमार्फत सुनको भन्सार दरमा गरेको वृद्धिले बहालवाला मन्त्रीहरूको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण र बजेटपछिको नयाँ मूल्यलाई विश्लेषण गर्दा क्याबिनेटका १५ मन्त्रीहरूको सुनको सम्पत्ति मात्रै झन्डै डेढ करोड रुपैयाँले बढेको हो ।

सरकारले बजेटमा सुनको भन्सार दर साविकको १० प्रतिशतबाट दोब्बर बनाएर २० प्रतिशत पु¥याउनुका साथै उपभोक्ता मूल्यमा ०.५ प्रतिशत सिप अभिवृद्धि महसुल समेत थप गरेको थियो । आज (आइतबार) सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएसँगै मन्त्रीहरूसँग रहेको कुल ७१०.५० तोला सुनको बजार मूल्य एकैपटक १ करोड ४५ लाख ६५ हजार रुपैयाँले वृद्धि भएको छ ।

यस मूल्य वृद्धिबाट सबैभन्दा बढी फाइदा प्रधानमन्त्री बालेन शाहलाई भएको छ । १९० तोला सुन रहेका प्रधानमन्त्री शाहको सम्पत्ति मात्रै ३८ लाख ९५ हजार रुपैयाँले बढेको छ ।

त्यस्तै, १८० तोला सुन भएकी उद्योग मन्त्री गौरीकुमारी यादवको सम्पत्ति ३६ लाख ९० हजार रुपैयाँले बढेको देखिन्छ । ४५ तोला सुन भएका अर्थमन्त्री स्वर्णिम वाग्लेको ९ लाख २२ हजार ५०० रुपैयाँ र ८० तोला सुन भएका मन्त्री रामजी यादवको सम्पत्ति १६ लाख ४० हजार रुपैयाँले वृद्धि भएको छ ।

अन्य मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दा सुनिल लम्साल र निशा मेहता दुवै जनाको ३०/३० तोला सुनका कारण जनही ६ लाख १५ हजार रुपैयाँले सम्पत्ति बढेको छ । त्यसैगरी, २५÷२५ तोला सुन भएका मन्त्रीहरू प्रतिभा रावल र सस्मित पोखरेलको सम्पत्ति समान ५ लाख १२ हजार ५०० रुपैयाँले बढेको छ भने २२ तोला सुन भएका शिशिर खनालको ४ लाख ५१ हजार रुपैयाँले वृद्धि भएको छ ।

त्यस्तै, १९.५ तोला सुन भएका विक्रम तिमिल्सिनाको सम्पत्ति ३ लाख ९९ हजार ७५० रुपैयाँले, १८ तोला सुन भएकी सिता वादीको ३ लाख ६९ हजार रुपैयाँले तथा १५/१५ तोला सुन भएका मन्त्रीद्वय विराजभक्त श्रेष्ठ र सोबिता गौतमको सम्पत्ति समान ३ लाख ७ हजार ५०० रुपैयाँले बढेको छ ।

११ तोला सुन भएका खड्कराज पौडेलको २ लाख २५ हजार ५०० रुपैयाँ र सबैभन्दा कम ५ तोला सुन भएकी गिता चौधरीको सम्पत्ति १ लाख २ हजार ५०० रुपैयाँले बढेको मन्त्रिपरिषद् कार्यालयको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्