काठमाडौं । विपक्षी दलहरूको नाराबाजी र अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन्।

निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको बैठकमा विपक्षी दलका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए। दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश दिउँसो ३ बजे मात्रै सुरु हुन सकेको थियो।
बैठक प्रारम्भ भएलगत्तै सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्ने समय दिएका थिए। सो क्रममा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिको आधिकारिक तथ्य माग गरे। बिनातथ्य बोलेको भए प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ।
आजको बैठकमा पनि विपक्षीहरूले सोही अडान दोहोर्याएपछि सभामुख अर्यालले संसद्को नियमित कार्यसूची अघि बढाउने प्रयास गरेका थिए। तर, विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि सभामुखले बैठक २५ गतेसम्मका लागि स्थगित गरेका हुन्।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची तय भएको थियो।














