
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर भ्रम नछर्न आग्रह गरेका छन् । बुधवार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीको सदस्यता पुनर्बहाली भएको सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका बेलासो कुरा स्पष्ट पारेका हुन् ।
उनले भण्डारी वि.सं. २०३७ सालदेखि नै पार्टीको सदस्य रहेको र २०३४ सालदेखि आन्दोलनमा सक्रिय रहँदै आएको ऐतिहासिक तथ्यलाई भुल्न नहुने बताए । राष्ट्रपति पदमा निर्वाचित भएपछि सो पदको गरिमा, तटस्थता र संवैधानिक व्यवस्था बमोजिम उनले पार्टी सदस्यता त्यागेको ओलीले बताए ।
अध्यक्ष ओलीले यो प्रक्रियालाई कसैको जित वा हारका रूपमा व्याख्या गर्नु गलत भएको उल्लेख गरे । केही पक्षले यसलाई आफ्नो विजयका रूपमा प्रस्तुत गरेकोप्रति लक्षित गर्दै उनले कोही विजयी सिकन्दर पल्टिनुपर्ने आवश्यकता नरहेको टिप्पणी गरे । यो हारजितको प्रश्न नभएको र केवल एउटा स्वभाविक र कानूनी प्रक्रिया भएको जिकिर गरे ।
उहाँले भन्नुभयो, ‘अब कतिपय साथीहरूले विभिन्न कुराहरू निकाल्नुहुन्छ । नबुझ्नेको पनि हद हुन्छ नि । विद्या भण्डारीजीको कुरा अहिले पनि उठिराखेको छ । उठाउनै पर्दैन । उहाँ राष्ट्रपति भएका बेला सदस्य हुनुहुन्नथ्यो । नभएको सदस्यता नवीकरण हुँदैनथ्यो । हाम्रो केन्द्रिय कमिटीले नवीकरण हुने भएन, एउटा आवेदन दिनुस्, कमिटीले विचार गर्छ भनेका थियौं । अस्ति भर्खर उहाँले आवेदन दिनुभयो । आवेदन दिएपछि कमिटीले उहाँको सदस्यता दियो । उहाँ ३७ सालको पार्टी सदस्य हो । ३४ सालदेखि आन्दोलनमा लाग्नुभएको हो, ३७ सालको पार्टी सदस्य हो । राष्ट्रपति भएका बेला उहाँ हुनुहुन्नथ्यो । बाँकी अवधि उहाँले पछि राष्ट्रपतिबाट छोडेपछि फेरि सदस्यता पाउनुभयो । यसमा पुरानो कन्टिन्युटी हुन्छ कि हुँदैन ? उहाँ ३७ सालकै पार्टी सदस्य हो। यसमा भ्रम राख्नु पर्दैन । फेरि राष्ट्रपति हुँदा पनि उहाँ सदस्यता हुनुहुन्नथ्यो । राष्ट्रपति हुँदा पार्टीले नै उहाँलाई पार्टी परित्याग गरेर जानुभएको, छोडेर जानुभएको, पार्टी मन नपराएर जानुभएको होइन । पार्टीले राष्ट्रपति जस्तो महत्वपूर्ण पदको जिम्मेवारी वहन गर्नका लागि उहाँलाई पठाएको थियो र उहाँले सदस्यता छोडेर जानुपरेको थियो, किनभने राष्ट्रपति भनेको दलभन्दा माथि स्वतन्त्र, निष्पक्ष, तटस्थ हुन्छ । देशप्रति, जनताप्रति वफादार हुन्छ । संविधान बमोजिम चल्छ । पार्टीमा हुँदा त पार्टीको अनुशासन र पार्टीको निर्देशनमा चल्नुपर्छ । उहाँ पार्टीको अनुशासन र निर्देशनमा हुनुहुन्नथ्यो । यति कुरा नबुझेर अहिले सदस्यता नवीकरण भयो भनेर कोही हामीले जित्यौं भनेर सिकन्दर पल्टिरहेका छन् फेरि—विजयी सिकन्दर, अलेक्जेन्डर द ग्रेट। यस्तो केही आवश्यकता नै छैन, यो हारजितको प्रश्नै होइन । त्यसकारण यस्ता कुराहरूमा नबहकिन पनि म साथीहरूलाई आग्रह गर्न चाहन्छु । अनि हरेक कुरामा खोचे थाप्ने, हरेक कुरामा निहुँ खोज्ने हाम्रो तरिका होइन । यसलाई छोडिदिनुपर्छ । हामी विचारमा एकतावद्ध हौँ । संगठनलाई एकतावद्ध गरौँ । संगठनको विधि, प्रक्रिया, पद्धति, अनुशासनअनुसार चलौं र संघर्षका लागि उच्च मनोबलका साथ तयार हौँ ।’














