Logo
Logo

विद्यावारीधि


441
Shares

समयको यात्रामा दुईपटक गरी सरोजले १२ वर्ष चीनमा बिताएका थिए । पहिले एमबिबिएसको निम्ति र पछि सर्जरीमा विद्यावारिधिको निम्ति भनेर । उनको जीवनको स्वर्णिम समय– युवावस्थाका १२ वर्ष– दुईपल्ट गरी चीनमा सिध्याए । पहिलोपल्ट उनी चीन जाँदा मैले चिनेकै थिइनँ ।

म देशमै थिएँ र विभिन्न किसिमले आन्दोलनरत थिएँ । औपचारिक शिक्षालाई पनि ‘बुर्जुवा शिक्षा त्याग्ने’ अभियानका कारण छोडिदिएकी थिएँ । काम भनेको कि ‘जातिभेदमुक्त देश बनाउन’ भनेर दलित समुदायमा पसेर घरघरमा ज्ञानको दियो बाल्ने प्रयत्न गर्ने, कि भने साथीहरुसँग गाउँ गाउँ पुग्दै एकातिर देशको अवस्थाको अध्ययन गर्ने, अर्कोतिर आफूले जानेसम्म ‘चेतना जगाउने’ प्रयत्न गर्ने ।

उद्देश्य मिल्ने जीवन साथी रोज्ने क्रममा समयले मलाई सरोजसँग भेट गरायो । त्यतिबेला उनी मेडिकल अफिसरको रूपमा भक्तपुर अस्पतालमा सेवा गर्दै थिए । बिरामीलाई धेरै माया गर्थे । एकजना मजदुर नेताकी श्रीमतिलाई उपचार गराउने जिम्मा मेरो काँधमा आइपरेको बेला भक्तपुर अस्पतालमा हाम्रो पहिलो भेट भएको थियो । विस्तारै थाहा पाउँदै गएँ उनी एक असल कवि पनि रहेछ भन्ने कुरा । उनको कवि–हृदयसँग पनि साक्षात्कार हुँदै गएँ । हामी दुई एक भयौं– विवाह बन्धनमा बाँधिएर । अनि हाम्री छोरी पनि भई ।

हामी दुबै ज्यादै अव्यवहारिक र भावुक थियौं । सरोजले आफ्नो डाक्टरको सर्टीफिकेट एउटा कुनामा मिल्काएर गाउँसँग, जनतासँग एकाकार हुन भनि हिँडे । मेरो पेटमा बच्चा भएको तीन महिनामात्र भएको बेला उनी काठमाडौं छोडेर भूमिगत राजनैतिक कार्यकर्ताको रूपमा पहाड मधेश चहार्दै थिए ।

समय उस्तै रहेन । पार्टीमा के के भइरहेको छ भन्ने सरोजलाई थाहा थिएन । आस्था यति चर्को थियो कि आफू डाक्टर भएको कुरालाई नै बिर्सेर दायाँ बायाँ नहेरि उनी संसार फेर्न लागेका थिए । तर ‘उनन्चालिस सालको गडबडी’ भनेर चिनिने घटना क्रममाका बेला भरत दाइ (डा. भरत प्रधान)ले उनलाई उतै भेटेर, सबै कुरा बताए । तात्कालिन अवस्थामा फेरि शहरमै फर्केर काम गर्न बल्ल बल्ल मनाए । भरत दाइले यति नगरेको भए उनको जीवनले अर्कै मोड लिइसकेको थियो – उनी त्यही मोडमा हराउँथे होलान् । दुई वर्ष भूमिगत जीवन बिताएपछि उनी फेरि खुल्ला रुपमा फर्किए र पाटन अस्पतालमा काम गर्न थाले ।

बल्ल अलि नियमित जीवन सुरु भएको थियो । फेरि अरु डाक्टरहरुको सल्लाहमा सरकारी सेवामै फर्किए र राजविराजको अस्पतालमा काम गर्न गए । म फेरि बच्चा बोकेर माइतिमा आमासँग बस्न गएँ । एक डेढ महिना पनि बित्न पाएको थिएन, सरोज पहिले पढेको चीनको ‘शाङ्घाई फस्र्ट मेडिकल कलेज’ मेडिकल युनिभर्सिटीमा रूपान्तरित भएको र पुराना विद्यार्थीहरुलाई स्नातकोत्तर शिक्षाको निम्ति बोलाएको खबर आयो । आफैले खोजेको अवसर थिएन त्यो – समयले बोलाएको थियो । उनी फेरि एक्लै चीन गए– पढ्न भनेर ।

हामी आमा–छोरीलाई छोडेर एक्लै त्यहाँ पुगे पछि उनलाई पनि छटपटी हुन थालेछ । अनि बरोबर चिठीमा लेख्न थाले– पढाई छोडेर बिचैमा देश फर्कन्छु भनेर । वास्तवमा मेरो निम्ति पनि त्यसरी छुटेर बस्नु, सानो बच्चाको बाबुलाई टाढा पठाएर बस्नु रमाईलो त पक्कै थिएन । तर गइ नै सके पछि पढाई पुरा गरेर मात्र फर्कुन् भन्ने चाहना थियो ।

भावुक मान्छे– फेरि तुरुन्तै पढाई छोडेर देश फर्किने पो हो कि भन्ने डर हुन थाल्यो । बरु मपनि छोरी लिएर उतै जान मिल्छ कि भनेर बाटो खोज्न थालेँ । पढाई छोडेर कुनै हालतमा नफर्किनु भनेर चिठी लेखें । तर अनेक कोशीस गर्दा पनि चीन जाने बाटो खुलेन । तर एक वर्षसम्म लगातार उता सरोजले गरेको कोशीसपछि म बच्चालाई लिएर सरोजको युनिभर्सिटीको होस्टलमा पुग्यौँ ।

सुरुमा मैले तीन महिनाको मात्र भिसा पाएकी थिएँ । तर त्यहाँ पुगेपछि हाम्रो मनोबल अर्कै भयो । बस्नलाई तीनैजना एउटै विद्यार्थी बस्ने कोठामा बस्यौँ । त्यो पनि होस्टल प्रशासनको अफिस कोठा अगाडि भुइँ तल्लामा । हामीले पाएको कोठाको भित्ता ओसिएको थियो । माथिल्लो तल्लाको बाथरुमबाट पानी ओसिएर आउने ।

‘चीन सचित्र’बाट प्रभावित मन चीनमै पुगेपछि भने अर्कै भयो । अहिलेको जस्तो विकसित र सम्पन्न थिएन आज भन्दा झण्डै ४० बर्ष अघिको चीन । चिनियाँहरुको सङ्घर्षको कथा आफ्नै ठाउँमा छ । त्यो बेला उनीहरू ज्यादै मिहेनत गरेर देश बनाइरहेका थिए । उनीहरु आफै पनि राम्रो र फराकिलो घरमा बस्न कहाँ पाउँथे र ! प्रोफेसर डाक्टरहरुले समेत बस्नलाई अलि फराकिलो कोठा पाए भने भाग्यकै कुरा हुन्थ्यो ।

वास्तवमा हामी त्यसरी गएर होस्टेलमा बसेको चीनियाँ अधिकारीहरुलाई मन परेको थिएन । देश फर्किउन् भनेर हामीलाई अप्ठ्यारो कोठा दिएको बुझ्न सकिन्थ्यो । तर सानी छोरीले उनीहरुको मन जित्दै थिई । हाम्रो व्यवहारमा पनि उनीहरुले गुनासो गर्ने ठाउँ थिएन । विस्तारै उनीहरुको व्यवहार मैत्रीपूर्ण हुँदै गयो । पछि अर्को राम्रो कोठा दिए । अनि विस्तारै आफै नै अघि सरेर मेरो निम्ति समेत छात्रवृत्ति मिलाउन सहयोग गरे । मैले पनि एउटा राम्रो युनिभर्सिटीमा पढ्ने अवसर मिल्यो । यसमा च्याङ यु–लान नामकी सरोजकी अभिभावक जस्ती अफिसरप्रति म सधैँ कृतज्ञ रहने छु ।

यसरी दुःखजेलो गरेर सरोजको छ वर्ष लामो सर्जरीको विशेषज्ञता सहितको विद्यावारीधि पढाई सकियो । त्यही बीचमा एकचोटी नेपाल फर्किए । फेक्ट (जनस्वास्थ्य सरोकार ट्रष्ट) र काठमाण्डू मोडेल अस्पताल स्थापनाको तयारी गरे । त्यही सिलसिलामा सहयोग जुटाउन जापान पनि पुगे । अनि बल्ल थेसिस डिफेन्स गर्न शाङ्घाई फर्किए । छोरीलाई भने नेपालकै स्कूलमा भर्ना गरेर घरमै बुवा–आमाको साथमा छोडेर फर्किएका थिए ।

आखिरमा थेसिस डिफेन्स गर्ने समय पनि आयो । खुसीको समय थियो त्यो । उनका पुराना चिनिया साथीहरु, गुरुहरु र शुभ–चिन्तकबाट उनलाई शुभकामना र बधाई ओइरिन थाल्यो । त्यही बेला हाम्रो विवाहको १०सौँ एनिभर्सरी पनि परेकोले साथीहरुलाई बोलाएर मनायौँ । दुःख–संघर्षको फल प्राप्त हुँदा खुसी हुनु एउटा कुरा थियो । तर छोरी आफुसँग नहुँदा म व्याकुल थिएँ । सकेसम्म छिटो भेट्ने नेपाल फर्कने तीव्र ईच्छामा थिएँ । सरोजको दीक्षान्त समारोह पर्खन पनि मलाई गाह्रो भइरहेको थियो ।

दीक्षान्त समारोहमा चीनलगायत विभिन्न देशका डाक्टरहरु सहभागी थिए । बुढाले त्यो चुचुरोमा पुगेर टोपी लगाए पछि एक चोटि गर्वले लामो सास फेरेँ । त्यतिबेला हाम्रो देशबाट चीनमा विद्यावारिधि गर्ने पहिलो डाक्टर थिए सरोज– ‘मेरो डबल डाक्टर’ भनेर जिस्क्याएँ पनि ।

प्रतिक्रिया दिनुहोस्