Logo
Logo

दिल्लीबाट फर्किपछि रविको प्रतिक्रिया- सीमा विवाद हल्ला गरेर होइन, कूटनीतिबाट सुल्झाउनुपर्छ


252
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कूटनीतिक मामिलाहरू अत्यन्तै संवेदनशील हुने भन्दै ठूलो हल्लाखल्ला गर्नुभन्दा चरणबद्ध रूपमा अघि बढ्नुपर्ने बताएका छन्।

पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार नेपाल फर्किएका सभापति लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कूटनीतिक विषयहरू ‘ढोल बजाएजस्तो’ नहुने टिप्पणी गरे। विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको सीमा विवादसम्बन्धी प्रश्नको जवाफ दिँदै उनले यसलाई कूटनीतिक माध्यमबाटै सहज रूपमा समाधान गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए।

उनले भने, “कुनै पनि विषय कूटनीतिक माध्यम अर्थात् ‘डिप्लोमेटिक च्यानल’ सक्रिय बनाएर समाधान गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। देशको हितका विषयमा हल्लाखल्ला गरेर वा ढोल बजाएर हुँदैन। ढोल नबजाई, आफ्ना कुराहरू राख्नुपर्ने ठाउँमा चरणबद्ध रूपमा राख्नुपर्छ।”

कूटनीतिक विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न आग्रह गर्दै उनले थपे, “जनताले सबैभन्दा बढी विश्वास गरेको राजनीतिक दलका रूपमा हामीले उठाउने विषयको जिम्मेवारी र संवेदनशीलता बुझ्न सकिएन भने कूटनीतिमा त्यसको कुनै महत्त्व रहँदैन।”

लोकप्रियताका लागि कूटनीतिको विषय उठाउन सजिलो भए पनि समस्या समाधानको प्रक्रिया भने फरक हुने उनको भनाइ थियो।

“लोकप्रियताका लागि (हल्ला गर्न) सजिलो होला, तर समस्या समाधानका आफ्नै कूटनीतिक चरणहरू हुन्छन्। सही ठाउँमा सही ढंगले कुरा राख्ने काम नेपालले हिजो पनि गर्थ्यो र आज पनि गर्छ,” लामिछानेले भने।

प्रतिक्रिया दिनुहोस्