काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापामाथि अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ ।
भुजेल नेपाली सेनामा कार्यरत थिइन् । उक्त विषयमा बालाजु प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ । शनिवार दिउँसो गुरुङ प्रहरी कार्यालय नै पुगेका हुन् । उनले प्रहरीले सत्य तथ्य छानबिन गर्नका लागि आग्रह गरेका छन् ।
गुरुङले मृतक भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए । मृतक भुजेल गोरखा निवासी हुन् । पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए ।
विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ । शुक्रवार राति १०स्१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।














