Logo
Logo

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ताको काम जारी 


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ताको काम भइरहेको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी बिहान १० बजेदेखि नै मनोनयन फारम वितरण सुरु गरेको छ । उम्मेदवार आकाङ्क्षीहरूले सभागृहभित्रै प्रभु बैङ्कका कर्मचारीलाई तोकिएको रकम बुझाएपछि फारम लिइरहेका छन् । 

यसपटक सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्दै छन् । महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुनेछ  ।

कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी सङ्ख्या १४ बाट बढाएर २६ पु‍र्‍याएको छ ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति सङ्ख्या चार पुगेको छ । महामन्त्रीको सङ्ख्या तीन पु‍र्‍याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।

दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको सङ्ख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यकताका आधारमा सहप्रवक्ताको सङ्ख्या अझै थप हुने पार्टीले बताएको छ ।

यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी सङ्ख्या १४ थियो । यसपटक प्रतिनिधि सङ्ख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी सङ्ख्या पनि बढाइएको हो । 

प्रतिक्रिया दिनुहोस्