काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयोतुल्लाह अली खामेनीको अन्त्येष्टि आगामी जुलाई महिनामा गरिने भएको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार जुलाई ४ र ५ मा राजधानी तेहरानमा सर्वसाधारणका लागि श्रद्धाञ्जली तथा अन्तिम दर्शन कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि जुलाई ६ मा तेहरान र जुलाई ७ मा कुम सहरमा अन्त्येष्टि समारोह सम्पन्न गरिने जनाइएको छ ।

त्यसपछि जुलाई ९ मा मशहदमा अर्को विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ । सो कार्यक्रमपछि अली खामेनीलाई इमाम रेजाको दरगाह परिसरमा दफन गरिने बताइएको छ । अन्त्येष्टिसम्बन्धी विस्तृत कार्यक्रम इरानी सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको हो ।विश्लेषकहरूका अनुसार खामेनीको अन्त्यष्टिमा २ करोडभन्दा बढी मानिस सहभागी हुनसक्ने अनुमान गरेका छन् ।
सन् १९८९ मा इस्लामिक गणतन्त्रका संस्थापक आयातुल्ला रुहोल्लाह खोमेनीको अन्त्येष्टिमा करिब १ करोड मानिस सहभागी भएको बताइन्छ । त्यो समयमा भीड अत्यधिक हुँदा भागदौड मच्चिएको थियो, जसमा कम्तीमा ८ जनाको मृत्यु र हजारौं घाइते भएका थिए ।
खामेनीको अन्त्यष्टि गरिने शहर मशहद ईरानको प्रमुख धार्मिक शहर हो । यहाँ इमाम रेजाको दरगाह रहेको छ, जसलाई शिया मुसलमानहरू अत्यन्त पवित्र स्थल मान्छन् ।
इमाम रेजा शिया परम्पराका आठौँ इमाम मानिन्छन् । उनको दरगाह संसारकै ठूलो धार्मिक स्थलमध्ये एक हो, जहाँ हरेक वर्ष करोडौँ श्रद्धालु पुग्छन् । त्यही कारण खामेनेईलाई त्यहीँ दफन गर्दा उनको नाम शिया परम्पराका अत्यन्त सम्मानित धार्मिक व्यक्तित्वसँग जोडिने बताइन्छ ।
गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले ईरानका विभिन्न रणनीतिक क्षेत्रमा ठूलो सैन्य कारबाही गरेका थिए। तेहरानसहित धेरै ठाउँमा हवाई आक्रमण भएको थियो । त्यही क्रममा सर्वोच्च नेताको निवास र कार्यालय पनि निशाना बनाइएको दाबी गरिएको छ। आक्रमणका बेला उनी बंकरमा रहेका भए पनि गम्भीर रूपमा घाइते भई पछि मृत्यु भएको बताइएको छ । त्यस आक्रमणमा उनीसँगै धेरै वरिष्ठ सैन्य अधिकारी, सुरक्षा निकायका प्रमुख र अन्य उच्च अधिकारीहरूको पनि मृत्यु भएको दाबी गरिएको छ। परमाणु कार्यक्रमसँग सम्बन्धित केही वैज्ञानिकको पनि ज्यान गएको थियो ।














