काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानसँग शान्ति सम्झौतामा हस्ताक्षर हुन सक्ने दाबी गरेका छन् । उनले सम्झौता भएपछि होर्मुज जलडमरूमध्य सबै जहाजका लागि पुनः खुला गरिने बताए ।

ट्रम्पले सम्झौताअन्तर्गत अमेरिकाले इरानलाई कुनै आर्थिक सहायता नदिने पनि स्पष्ट पारेका छन् । उनले पूर्व राष्ट्रपति बराक ओबामाको प्रशासनमाथि इरानलाई अर्बौँ डलर उपलब्ध गराएको आरोप लगाउँदै त्यसमा १ अर्ब ७० करोड डलर नगद रकम समेत रहेको दाबी गरेका छन् ।
उनले क्षेत्रीय अवस्था सामान्य बनेपछि अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित सामग्री पूर्ण रूपमा नष्ट गर्नेछ । उनले यो काम इरानमै वा अमेरिकामा समेत गर्न सकिने बताएका छन् ।
ट्रम्पले भविष्यमा अमेरिका, इरान र समग्र मध्यपूर्वबीच अझ राम्रो सम्बन्ध स्थापना गर्न चाहेको बताए । तर उनले शान्ति प्रक्रिया सफल नभए अमेरिकासँग अन्तिम विकल्प पनि रहेको चेतावनी दिँदै त्यसलाई पुनः प्रयोग गर्न नचाहेको उल्लेख गरेका छन् ।
यसैबीच, अल जजिराका अनुसार अमेरिका र इरानबीच सम्भावित सम्झौताबारे इरानमा धारणा विभाजित देखिएका छन् । केहीले युद्ध चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन् भने कतिपयले हालैका अमेरिकी गतिविधिपछि अमेरिकामाथि विश्वास गर्न कठिन भएको बताएका छन् ।
अमेरिका नै पटक-पटक आफ्ना प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउँदै इरानले आफ्नो वाचा कहिल्यै नतोडेको दाबी गरिएको छ । अमेरिका फेरि सम्झौताबाट पछि हटे वा इरानमाथि आक्रमण गरे इरानी सेनाले पहिलेभन्दा अझ कडा जवाफ दिने चेतावनी समेत इरानले दिएको छ ।














